जनकपुर- ठगी मुद्दाको आरोपमा फरार रहेका नेकपा नेता तथा बैंक सञ्चालकलाई आज पक्राउ गरिएको छ।
जनकपुरधामस्थित सहयोगी विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य दिपेन्द्र कुमार यादव (दिपु) लाई जालसाजी तथा ठगी मुद्दामा पक्राउ गरिएको हो।
बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरीले साहलाई जनकपुर-८, बलवा टोल स्थित उनकै निजी निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए।
यादवले जनकपुरधाम-१० का लालबाबु रौनियारको धितो राखिएको जग्गा रकम चुक्ता गरिदिए पनि फिर्ता नगरेको तथा जालसाजी तथा ठगी गरी उक्त बिक्री गरेको अभियोगमा उजुरी परेपछि जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो।
रौनियारले लामो समयसम्म पनि आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा फिर्ता गराइदिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए।
करिब ८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवासस्थित ५ कट्ठा जग्गा व्यक्तिगतरुपमा यादवकहाँ धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए। केही वर्षभित्रै सो ऋणवापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि उनले अझैसम्म जग्गा फिर्ता पाएएका छैनन्।
जग्गा फिर्ता गर्न पटक-पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि पीडित रौनियारले फिर्ता गराइदिन माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए।
पीडित रौनियारको बर्दिवासस्थित ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको बताइएको छ। आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाए लगत्तै रौनियारले जग्गा फिर्ता गर्न आग्रह गर्दा केही समय लाग्ने भन्दै यादवले बेवास्ता गर्दै आएका थिए।
जिल्ला अदालत धनुषाले गत साउन महिनामै पक्राउ पूर्जी जारी गरे पनि नेकपा नेतासमेत रहेका यादवले राजनीतिक आडमा संरक्षण पाउँदै आएका थिए। पछिल्लो निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट धनुषा क्षेत्र नं ३ 'क' प्रदेशसभा सदस्यमा उनले चुनाव समेत लडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।