जनकपुरधाम- राष्ट्रिय जनता पार्टी नेपाल धनुषाले गृह मन्त्री र पर्यटमन्त्रीको पुत्ला दहन गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको राजपा धनुषा अध्यक्ष मण्डलको बैठकले यस्तो निर्णय गरेको हो।
बिहीबार दिउँसो ४ बजे जनकचोकमा गृहमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रीको पुत्ला दहन गर्ने तय गरेको राजपा धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झाले बताए।
यसैगरी, शुक्रबार साँझ नगरभित्र मशाल जुलुस प्रदर्शन गर्ने र शनिबार धनुषा बन्दको आह्वानसमेत गरिएको झाले जानकारी दिएका छन्।
यसका साथै बुद्ध एयर खारेजीको माग गर्ने निर्णय समेत बैठकले गरेको छ।
जनतामैत्री सेवा नदिएका कारण बुद्ध एयरको दर्ता खारेजीको मागसहित जनकपुरधाम विमानस्थलका प्रमुख सन्तोष ढकालले सांसद प्रमोद कुमार साहमाथि झुठा मुद्दा दर्ता गराएकाले उनीमाथि समेत कारबाहीको माग गरिएको छ।
जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा राजपा सांसाद प्रमोदकुमार साह पक्राउ परेपछि राजपा बुद्ध एयरका साथै सरकारी संयन्त्रसमेत आक्रोशित बनेको हो।
साहलाई ४ दिनसम्म हिरासतमा नै राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।