रियाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन्।
उनीहरुबीच अरब खाडी क्षेत्रमा उत्पन्न तनाव न्यूनीकरणका बारेमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन्।
खाडी क्षेत्रको भ्रमणका क्रममा साउदी अरब पुगेका पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशको आपसी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका बारेमा कुराकानी गरेका जनाइएको छ। साउदी अरबका युवराज र पाकिस्तानी प्रधानमन्त्री खानबीच गहिरो आत्मीय सम्बन्ध रहेको बताउने गरिएको छ।
साउदी अरबको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उनीहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समसामयीक विषयमा छलफल गरेका थिए।
'प्रधानमन्त्री खान छोटो समयका लागि साउदी अरब आउनुभएको हो, यस अवसरमा उहाँले साउदी राजा र युवराज दुवै जनालाई भेटवार्ता गर्नुभएको छ,' मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ।
छलफलको विषयवस्तुका बारेमा प्रष्ट पार्दै मन्त्रालयले उनीहरुका बीचमा पछिल्लो समय विकसित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटना क्रमका बारेमा छलफल भएको जनाएको छ। साथै उनीहरुले विकसित घटनाक्रमहरुलाई कसरी सम्बोधन गर्ने भन्ने उपायहरुका बारेमा पनि कुराकानी गरेका अधिकारीहरुले जनाएका छन्।
प्रधानमन्त्री खान इरानको दुई दिने भ्रमण सकेर साउदी अरब आएका हुन्। खानले यस वर्ष मात्रै योसहित साउदी अरबको ३ पटक भ्रमण गरिसकेका छन्।
यसअघि उनले यही वर्षको मे र सेप्टेम्बरमा साउदी अरबको भ्रमण गरेका थिए भने साउदी अरबको तर्फबाट युवराज मोहम्मद बिन सलमानले फेव्रुअरीमा पाकिस्तानको राजकीय भ्रमण गरेका थिए। यसपटक भने खान अरब खाडी क्षेत्रमा तनाव बढिरहेको बेला खाडी क्षेत्रको भ्रमणमा निस्केका हुन्।
खाडी क्षेत्रको शान्ति र सुरक्षा प्रवर्द्धनका लागि सहयोग गर्न उनको भ्रमण भएको प्रधानमन्त्री खानको कार्यालयले जानकारी दिएको छ। इरान भने उनी यही वर्ष दोस्रोपटक पुगे।
गत महिना प्रधानमन्त्री खानले खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरब र अमेरिकाले आफूलाई आग्रह गरेको बताएका थिए।
गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्याङ्कर नियन्त्रणमा लिएयता अमेरिका-इरान कूटनीतिक तनावको केन्द्रमा छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।