काठमाडौं- नेपालको संविधानले ‘फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९’ प्राप्त गरेको छ। युवा अधिकारका विषयमा अग्रगामी व्यवस्था संविधानमा गरेको भन्दै यस्तो अवार्ड दिइएको हो।
द्वन्द्वबाट शान्तितर्फ अगाडि बढेको नेपालका लागि लागि संविधान उपलब्धि भएको उल्लेख गर्दै सर्वियाको राजधानी बेलग्रेडको अन्तर-व्यवस्थापिका संघ (आइपियू)को सम्मेलनमा नेपालको संविधानलाई पुरस्कृत गरिएको हो। आइपियूको १४१औं सम्मेलनका क्रममा नेपाललाई अवार्ड प्रदान गरिएको हो। सम्मेलनमा १ सय ४० देशका प्रतिनिधि सहभागी थिए।
वर्ल्ड फ्युचर काउन्सिलले आइपियू र संयुक्त राष्ट्र संघ विकास नियोग (युएनडिपी) सँगको सहकार्यमा नेपालसँगै रुवान्डा, स्टोनिया, स्कटल्यान्ड, दक्षिण अफ्रिकालगायत आठ मुलुकलाई विभिन्न अवार्ड प्रदान गरेको थियो। नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापनमा हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको वर्ल्ड फ्युचर काउन्सिलले जनाएको छ।
नेपालको संविधानमा युवा सहभागीता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चितता लगायतका कानुनी व्यवस्था उदारणीय भएको काउन्सिलले उल्लेख गरेको छ। त्यसैगरी युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकारबारेको उपलब्धि भनिएको छ।
नेपालको तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त अवार्ड ग्रहण गरेका हुन्।
अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले मौलिक अधिकारमार्फत युवाहरुको भविष्य र प्रगतिपथलाई सुनिश्चित गरेको बताए। ‘नेपालको संविधानले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, स्वच्छ वातावरण र खाद्य सम्प्रभुता नेपालीको मौलिक हकका रुपमा व्याख्या गरेको छ। यो हाम्रो उपलब्धि हो,’ तिमिल्सिनाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।