राष्ट्रपति भण्डारीलाई विमानस्थलमा स्वागत गरिँदै।
म्यानमार- राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति उ विन मिन्तबीच आज भेटवार्ता हुने भएको छ। बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा दुई समकक्षीबीच भेटवार्ता हुनेछ।
राष्ट्रपतिसँग आजै म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीले पनि सोही हाउसमा भेट गर्ने कार्यक्रम छ।
आजै म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ। राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यानमारका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन्।
त्यस्तै, जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारीको सम्मानमा म्यानमारका राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।
राष्ट्रपति भण्डारी म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यानमारको राजधानी नेपित आइपुगेकी हुन्।
उनलाई म्यानमार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री उ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा उ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीलाई नेपित सहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए।
राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत थिए।
राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म हुने म्यानमारको राजकीय भ्रमणका सिलसिलामा यहाँ आइपुगेकी हुन्। (रासस विशेष प्रतिनिधि श्याम रिमाल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।