काठमाडौं- टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा बिहीबार सुनुवाइ हुँदैछ।
जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा सुनुवाइ हुन लागेको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको तेस्रो नम्बरमा रविको मुद्दा पेसीमा रहेको छ।
जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो। दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरिसकेको छ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए। जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए।
उच्च अदालतमा आज हुने सुनुवाइले जिल्ला अदालतको आदेशको परीक्षण गर्नेछ। जिल्लाले गरेको फैसला बदर गर्ने वा सदर गर्ने निर्णय उच्चले गर्नेछ।
जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमण जानुअघि अदालतको अनुमति लिनुपर्ने लगायतका सर्त राखेको थियो।
लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए। कँडेल ३ लाख धरौटीमा र कार्की साधारण तारेखमा रिहा भएका थिए। सरकारी पक्षले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय बदर गरेर थुनामा पठाउनु पर्ने माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।