रोल्पास्थित महराको घर र आडमै निर्माण गरेको दुर्गा मन्दिर।
रोल्पा- आफ्नै लगानीमा निर्माण गरिएको दुर्गाको मन्दिर बडादसैंको महाअष्टमीका दिन उद्घाटन गर्ने, पूजापाठ गर्ने र संरक्षणका लागि स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यतालिका थियो निवर्तमान सभामुख कृष्णबहादुर महराको।
सोही अनुसार उनको घरअगाडि नै बनेको मन्दिरमा सजावट तथा रंगरोगनको तयारी हुँदै थियो। गाउँलेहरु उनको स्वागतका लागि प्रतिक्षारत थिए।
नवनिर्मित मन्दिरमा पञ्चबलीका लागि हाँस, कुखुरा, परेवा, बोकाको बन्दोबस्त हुँदै थियो। बलबालिकादेखि वृद्धवृद्धा र सभामुख महराका बलसखा समेतमा विशेष उत्साह देखिन्थ्यो।
विशेष दिनको प्रतिक्षामा रहेका उनीहरुले असोज १२ गते यस्तो खबर सुने जसले उनीहरुमा चुलिँदै गएको उत्साहको पहाड ढल्यो। खबर थियो संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले जबरजस्ति करणी प्रयास गरेको आरोप।
यो खबर उनीहरुका लागि कल्पना बहिरको थियो। पत्याउने कुरै भएन। फोन तथा भेटघाट गरेर सत्यतथ्य बुझ्ने कोशिस गरे तर भरपर्दो र विश्वासिलो खबर नपाएका उनीहरु निराश बने। महराका बलसखा नोखराज पोख्रेलले भने, 'उहाँबाट यस्तो काम भयो होला भनेर सोच्नै सकिने विषय होइन। कसरी यस्तो आरोपमा फस्नुभयो, अचम्मै लागेको छ।'
धर्मको सहारामा साख राख्ने काम
यसका अलावा सशस्त्र युद्धको समयमा 'धर्मलाई अफिम'को संज्ञा दिँदै प्रशिक्षण दिने महरा पछिल्लोपटक भने धर्मकर्ममा यू-टर्न भएको उनका गतिविधिले देखाउँछ। महराले आफ्नै घरअगाडि लाखौं रुपैयाँ खर्च गरेर दुर्गाको मन्दिर खडा गरेका छन्। लामो समय दसैंको टीका बहिष्कार गरेका उनले अघिल्लो वर्षको दसैंमा भने टीका लगाए। सो क्रममा महराले आफन्त र गाउँलेहरुलाई समेत टीका लगाइदिएका थिए।
यस वर्ष थप उत्साहका साथ दसैं मनाउने योजनामा रहेका महराले लामो समयदेखि बस्न छाडेर खण्डहर बनेको जन्मघरलाई समेत मर्मतसम्भार गरी रंगरोगन गराएका थिए।
'पछिल्ला दिनमा उनको धर्मप्रति लगाव बढ्न थालेको हामीलाई अनुभूति भएको थियो,' महराका छिमेकी लालबहादुर कुँवरले भने, 'रोल्पा नगरपालिका-१ मा रहेका तीन स्थानमा रहेका मन्दिर तथा धार्मिक स्थलको संरक्षणमा उनले आर्थिक सहयोग गर्नुले पनि उहाँमा आस्तिक भावना बढ्दै जान थालेको भान हुन्छ।'
महरा उपप्रधान तथा अर्थमन्त्री भएको बेला रोल्पा नगरपालिका-१, भदौरेमा रहेको शिव महादेव मन्दिर परिसरमा तारबार गर्न तथा थप मन्दिर र प्रतिक्षालय निर्माणमा आर्थिक सहयोग गरेका थिए। निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत तत्कालीन जिल्ला विकास समिति रोल्पामार्फत ४ लाख रुपैयाँ बजेट विनियोजन गरी उक्त काम सम्पन्न भएको थियो।
सोही स्थानमा महरा पुत्र राहुलले अघिल्लो वर्ष २ वटा मन्दिर निर्माण गरिदिएका थिए। महराहरुको कूल पूजाका लागि महराले अघिल्लो वर्ष १६ लाख रुपैयाँ सहयोगसमेत गरेका थिए। मन्दिर निर्माण, तारबार तथा चौर निर्माणमा उक्त रकम खर्चिएको थियो। महराको कार्यव्यस्तताले उक्त मन्दिर महरा पत्नी सीताले अघिल्लो वर्ष उद्घाटन गरेकी थिइन्।
भौतिकवादी महरा अध्यात्मवादमा यू-टर्न हुन थालेका अन्य प्रशस्तै उदाहरण भए पनि उनका आलोचक भने क्रिस्चियनको आरोप लागेका उनी देखाउनकै लागि सबथोक गरिरहेको स्थानीय एक नेताले आरोप लगाए। द्वन्द्वकाल र त्यसपछिको शान्ति प्रक्रियाका क्रममा समेत महरालाई क्रिस्चियनको आरोप लागेकाले आफू हिन्दु नै भएको देखाउन सवथोक गरिरहेका उनको भनाइ छ।
छोरालाई राजनीतिमा स्थापित बनाउने बाटोमा महरा
महरा छोराहरुलाई राजनीतिमा स्थापित गराएर आफू विश्राम लिन खोजिरहेका थिए। जेठा छोरा निर्मल महरालाई दाङ र कान्छो छोरा राहुललाई रोल्पाबाट स्थापित गराउने प्रयासस्वरुप नै बसाइ व्यवस्थापन गर्न थालेका थिए। दाङको घोराही नगरपालिका गैरागाउँमा घर बनाइ बसोबास गर्दै आएका महराको परिवारका सदस्यहरुको पछिल्लोपटक रोल्पामा समेत आवतजावत बढिरहेको थियो।
रोल्पा नगरपालिका-१, मेवाङमा रहेको पैत्रिक सम्पत्तिको ठूलो हिस्सा उनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तर्गत रोल्पा पोलिटेक्निकलाई हस्तान्तरण गरेका थिए। माओवादी सशस्त्र संघर्षपूर्व खरिद गरेको केही पाखो जग्गा र पैत्रिक सम्पत्तिसमेत महराले प्राविधिक शिक्षालयलाई हस्तान्तरण गरेका थिए।
अहिले उक्त स्थानमा कृषि र भेटनरी विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन हुँदै आएको छ। हस्तान्तरण गरेर बचेको केही जग्गा र घर बेवारिसे हुँदै आएको थियो। प्रायः खण्डहर बनेको घर यसैवर्ष मर्मत गरेर बस्नलायक बनाएका महराले कान्छो छोरा राहुलसँगै बाँकी समय सोही घरमा बताउने सोच बनाएका उनका छिमेकीको भनाइ छ।
महराको पारिवारिक अवस्था र राजनीतिमा प्रवेश बिन्दू
सदरमुकाममा रहेको बालकल्याण माध्यमिक विद्यालयमा लामो समय पढाएका महरा जन्मिदा उनको परिवारको आर्थिक अवस्था नाजुक थियो। बुवा रविचन महराका एकमात्र सन्तान महरा पढाइमा समेत अब्बल रहेकाले विद्यालयदेखि क्याम्पस तहसम्म छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका थिए।
२०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपालबाट रोल्पा निर्वाचन क्षेत्र नं २ बाट सांसद निर्वाचित भएका थिए। आफ्ना ९ जना सांसद निर्वाचित भएपछि डा बाबुराम भट्टराईले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल संसद्मा तेश्रो ठूलो दल बनेको थियो। २०५१ सालमा माउपार्टी नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्रमा आएको फुटसंगै संयुक्त जनमोर्चा नेपाल समेत विभक्त भयो।
फुटपछि महराले डा बाबुराम भट्टराई समूहलाई समर्थन गरे र उक्त समूहको संसदीय दलको नेतासमेत भएका थिए। २०५२ साल फागुन १ देखी तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा संयुक्त जनमोर्चा नेपालको बाबुराम समूहमा रहेका ४ सांसदमध्ये प्रत्यक्ष सामेल हुने उनी एक मात्र सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।