राजविराज- श्रृंखलावद्ध चोरी गरी गाउँलाई नै सशंकित बनाएका आमाछोरालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
सिसिटिभी फुटेजसहित गाउँलेको सामूहिक उजुरीका आधारमा महादेवा गाउँपालिका-१ घर भई राजविराज नगरपालिका-८ मा डेरा गरी बस्ने ४० वर्षिय सरितादेवी सरदार (यादव) र उनका १६ वर्षीय छोरा पक्राउ परेका हुन्।
उनीहरुलाई मंगलबार डेराबाटै पक्राउ गरिएको हो। डेराबाट प्रहरीले चोरीका मोबाइल, कपडा, टेस्टर, चाबीको झुत्ता लगायतका सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीका अनुसार आमाछोराकै मिलेमतोमा गाउँमा चोरी हुने गरेको थियो। आमाले गाउँभरी घुमेर चोरी गर्न सकिने घरका बारेमा जानकारी लिने र त्यसैका आधारमा छोराले चोरी गर्ने गरेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार विगत तीन महिनादेखि गाउँमा हरेक रात चोरी हुँदै आएको थियो। ‘चोरी नभएको एउटा घर पनि बाँकी छैन,’ स्थानीय पंकजकुमार साह भन्छन्, ‘प्रहरीले पनि वास्ता नगरेपछि कैंयौँ दिन जागा बसेर चोरको पहिचान गरी प्रहरीमा उजुरी गरेका हौं।’
राति चकमन्न भएपछि छतबाट एकदेखि अर्को घरमा सर्दै चोरी गर्ने गरिएको गाउँलेले बताए। गाउँको बीचमा डेरा लिएर बसेकाले कसैले देखिहाले लुकिछिपी डेरामा लुक्न पुग्ने गरेकाले पहिचान हुन ढिलो भएको स्थानीय प्रेम साह बताउँछन्।
‘पिछा गर्दै जाँदा गाउँको बीचमै चोर बेपत्ता हुन थालेपछि शंका लाग्यो,’ साहले भने, ‘सल्लाहअनुसार नै जागा बस्ने र चियो गर्न थालेपछि उनीहरुको कर्तुत पत्ता लाग्यो।’
तीन महिनाको अवधिमा गाउँका करिब १ सयमध्ये आधाजसो घरका मोबाइल, घडी, सुनचाँदीका गहना लगायतका सामग्री चोरी भएको स्थानीय बताउँछन्।
पक्राउ परेका दुवैलाई जिल्ला अदालत राजविराजमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको डिएसपी भारतीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।