काठमाडौं- क्याट क्विन्स काठमाडौंले महिलाको फ्रेन्चाइज क्रिकेट लिग वुमन च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ।
बिहीबार काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै क्याट क्विन्स काठमाडौंले पहिलो जीत निकालेको हो।
पोखरा पल्टनका लागि कप्तान सिता राना मगरले सर्वाधिक १७ रन तथा विन्दु रावलले १३ रन जोडिन्। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
पोखरा पल्टनलाई सस्तैमा समेट्न क्याट क्विन्स काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले २/२ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो। कप्तान रुविना क्षेत्रीले अविजित रहँदै ८३ रनको अर्धशतकीय पारी खेलिन्। ६७ बलको सामना गरेकी रुविनाले १४ चौका र २ छक्का प्रहार गरिन्।
काठमाडौंका लागि रोमा थापाले १९, शोभा आलेले १२ तथा ईश्वरी विष्टले अविजित १० रन जोडेका थिए।
नेपालमा पहिलोपटक आयोजित महिला क्रिकेट लिग-डब्लूसिएल क्रिकेटको उद्घाटन खेलमा चितवन राइनोज वुमन्स विजयी भएको थियो। चितवनले बुधबार भएको खेलमा सिनियर राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी रुविना क्षेत्री नेतृत्वको क्याट क्विन्सलाई ५ विकेटले हराएको थियो।
प्रतियोगितामा ५ मुख्य सहरका ५ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताका विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।