राजविराज– एकीकरण प्रक्रियामा सन्तुलन मिलाउन नसक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गाउँदेखि केन्द्रसम्मका नेता÷कार्यकर्ता असन्तुष्ट छन्। जिम्मेवार तहबाटै पहल नहुँदा असन्तुष्टि थप चुलिँदै गएको हो।
जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा भदौ २४ गते भएको ‘वर्दिवास घटना’पछि प्रदेश–२ को विवाद सतहमा आयो। उक्त घट्ना र त्यसपछिका घटनाक्रमले ८ वटै जिल्लाको पार्टी संगठन स्पष्ट रुपमा दुई धारमा विभाजित भएको छ। नेता/कार्यकर्ता दुई पक्ष भएका छन् भने बैठक र भेला समेत छुट्टाछुट्टै हुन थालेका छन्।
सप्तरीमा मंगलबार (असोज २८ गते) नव गठित जिल्ला कमिटीले कञ्चनरूप नगरपालिका–७ स्थित आदर्श टोलमा शुभकामना–आदान प्रदान तथा जिल्ला र प्रदेश कमिटीका सदस्यहरूबीच छलफल कार्यक्रम आयोजना गरेपछि नेता/कार्यकर्ताको धू्रवीकरण अझै बढेको छ।
प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमनराज प्याकुरेललगायतका जिम्मेवार व्यक्ति उपस्थित रहेको कार्यक्रममा जिल्ला कमिटीमा राखिएका पनि कतिपय सदस्यलाई नबोलाइएको भन्दै असन्तुष्ट पक्षले बुधबार छुट्टै भेला बोलायो।
शम्भुनाथ नगरपालिका–२ स्थित खैरबनीमा सम्पन्न भेलाले केन्द्रीय समितिको सर्कुलर, निर्देशन र मापदण्ड विपरीत जिल्ला कमिटी गठन गरिएको र एकलौटी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै त्यसको विरोध गरेको छ। जिल्ला कमिटी गठन गर्दा काखापाखा गरेको र पार्टीमा योगदान गरेका इमान्दार कार्यकर्तालाई छुटाइएको उनीहरूको आरोप छ।
योग्यता नै नपुगेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको र पार्टीका लागि योगदान दिएकालाई पाखा लगाएको भन्दै नेता÷कार्यकर्ताबीच व्यापक विवाद छ। जिल्ला कमिटी गठनप्रति तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैतर्फ नेता/कार्यकर्ता असन्तुष्ट छन्। कुल १ सय ६५ सदस्यीय कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य छन्।
वर्दिवास घटनापछि संगठन निर्माणको कामलाई यथाअवस्थामा राख्न केन्दी्रय समितिले दिएको निर्देशनलाई पनि प्रदेश इन्चार्ज मण्डल, अध्यक्ष प्रभु साह र सचिव प्याकुरेलले बेवास्ता गरेको उनीहरूले आरोप लगाए।
बुधबार सम्पन्न भेलाले असन्तुष्ट पक्षलाई पेलेरै अगाडि बढ्ने मानसिकताले विवादित जिल्ला कमिटीको सपथ ग्रहण गराउने तथा एकतर्फी बैठक र भेला गरिरहेको ठहर गरेको छ। संगठनको आधा शक्तिलाई पन्छाएर पेलेरै जाने मानसिकताले संगठनका गतिविधि भइरहेकाले त्यसको भन्डाफोर गर्न भेलाले सहमति गरेको एक नेताले बताए।
पार्टीको नीति र सिद्धान्त विपरीत भइरहेको क्रियाकलापका विषयमा निर्वाचन क्षेत्र स्तरीय र स्थानीय तहमा कार्यक्रम गरी त्यसको पर्दाफास गरिने ती नेताले जानकारी दिए। भेलामा पूर्व सिँचाइ मन्त्री उमेश यादव, पूर्व सांसद दानालाल चौधरी, पूर्व सभासद असर्फी सदा, प्रदेश सदस्य देवनाथ यादव र महेश यादव, जिल्ला सचिव गोविन्द न्यौपान ेलगायत करिब १३५ जनाको सहभागिता थियो।
‘रअ’ एजेण्टको आरोप, पुष्टि गर्न चुनौती
मंगलबार आदर्श टोलमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश इन्चार्ज मण्डलले असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेताहरुलाई ‘रअ एजेण्ट’ को संज्ञा दिएको विषयले चर्चा पाएको थियो।
भेलालाई सम्वोधन गर्दै पुर्व मन्त्री उमेश यादवले प्रदेश इन्चार्ज भएको ब्यक्तिले नै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए। उनले आरोपलाई पुष्टि गर्न मण्डललाई चुनौति दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।