सर्वोत्कृष्ट चलचित्र गीत रचनातर्फको अवार्ड ग्रहण गर्दै गीतकार दिग्गज धौराली।
चितवन- कालिका मिडियाले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बिहीबार १५औँ म्युजिक अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ।
मिडियाले लाइफटाइम अचिभमेन्टसहित ३१ विधामा संगीतकर्मीहरूलाई अवार्ड प्रदान गरेको हो। विभिन्न ३० विधामा छनोटमा परेका १ सय ५० गीतसंगीतहरु मध्येबाट सर्वाधिक मन पराइएका हरेक विधाका एक-एक सृर्जनाहरुलाई अवार्ड प्रदान गरिएको कालिका मिडियाका निर्देशक दीपक पौडेलले बताए।
म्युजिक अवार्डमा यसपाला ‘छक्का पञ्जा ३’ फिल्मको गीत ‘पहिलो नम्बरमा’लाई वर्षकै सर्वोत्कृष्ट गीत घोषणा गरियो। यस गीतले विभिन्न ३ विधामा अवार्डसमेत हात पारेको थियो। सर्वोत्कृष्ट चलचित्र महिला गायनमा विन्दु परियार, सर्वोत्कृष्ट संगीतकारमा दिपक शर्मा र वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड पाएको यस गीत राजेन्द्र थापाले लेखेका हुन्। यस गीतमा आवाजमा गायिका परियारलाई डेविड शंकरले साथ दिएका छन्।
चलचित्र गायनमा पुरुषतर्फ ‘फुल होइन’ गीतका लागि प्रदाप दासले अवार्ड हात पारे। शब्दतर्फ भने क्याप्टेन चलचित्रमा समावेश ‘रहर छ सँगै’ बोलको गीतका लागि सर्जक युवा गीतकार दिग्गज धौरालीले अवार्ड पाए।
सर्वोकृष्ट भिडियो अभिनयमा ‘इन्स्टाको फोटो’बाट आशिफ शाह र महिलातर्फ सोही गीतबाटै रेश्मा घिमिरेले अवार्ड हात पारिन्। भिडियो सम्पादनतर्फ ‘सानोमा सानो’का सम्पादक पवन शुश्लिङ, निर्देशनमा अशिम शाह तथा सिनेम्याटोग्राफरमा ‘मेरो भागको’ तर्फबाट बुद्ध थापा सर्वोत्कृष्ट ठहरिए।
सर्वोत्कृष्ट ब्यान्डतर्फ अभया एन्ड दी स्टिम इन्जिनले अवार्ड थाप्यो। त्यस्तै लोकदोहोरी गायनमा पुरुषतर्फ ‘लालुमै’बाट सन्दीप न्यौपाने र महिलातर्फ ‘गलबन्दी’बाट शान्ति श्री परियारले अवार्ड जिते। लोकदोहोरी गीतको शब्द संकलनतर्फ रमेश बिजीको ‘छोरो अमेरिका छ’ सर्वोत्कृष्ट ठहरियो।
लोकदोहोरी संगीतर्फ ‘सालको पात’बाट बसन्त थापा र सर्वोत्कृष्ट स्थानीय लोकदोहोरी कलाकारतर्फ अस्मिता डिसीले अवार्ड जितिन्।
सर्वोत्कृष्ट युगल गायनमा ‘कर्के नजर’बाट सञ्जीव पराजुली र टिका प्रसाईंलाई अवार्ड प्रदान गरियो। सर्वोकृष्ट संगीत संयोजनतर्फ आशिष अविरल उत्कृष्ट ठहरिँदा आधुनिक गीत गायनमा पुरुषतर्फ शिव परियारको ‘मेरो भाग्यको खुसी’ र महिलातर्फ दिपा लामाले ‘कुर्दैछु म’बाट अवार्ड हात पारिन्।
आधुनिक गीतको संगीततर्फ ‘पिरिम नलाउने’ बाट दिपक शर्मा र शब्दतर्फ ‘त्यो सपना’बाट होमनाथ न्यौपानेले अवार्ड प्राप्त गरे।
सर्वोत्कृष्ट पप गायनमा पुरुषतर्फ ‘सानी’ गीतबाट बुद्ध लामा र महिलातर्फ ‘तिम्रै पर्खाइमा’बाट अनामिका मल्ल तथा पपगीत संगीततर्फ पनि ‘सानीकै गीतबाट आशुसेन लामा र सर्वोत्कृष्ट शब्दतर्फ ‘कवि देवकोटा’बाट गीतकार एकनारायण भण्डारीले अवार्ड पाए।
त्यस्तै, सर्वोत्कृष्ट मध्य-नेपाल गायनमा ‘म तिमीलाई माया गर्छु’का गायक तम्पेशेर राई र सर्वोत्कृष्ट नवप्रवेशी कलाकारमा देबेन्द्र बब्लुले ‘कसरी’ गीतबाट अवार्ड हात पारे।
सर्वोत्कृष्ट गजलमा ‘चुपचाप छौ तिमी’बाट आनन्द कार्की र सर्वोत्कृष्ट राष्ट्रिय गीतमा सुमित खड्का सर्वोत्कृष्ट ठहरिए।
म्युजिक अवार्डअन्तर्गत लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका संस्थापक निर शाहलाई प्रदान गरियो। नारायणगढस्थित नारायणी कला मन्दिरमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा सिंगो जीवन समर्पण गर्नुका साथै नेपाली टेलिभिजन युगको सुरुवात गरेको भन्दै शाहलाई सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शाहले अवार्डले आफूभन्दा पनि आफ्नो पेसा सम्मानित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।