उदयपुर- इलाका प्रहरी कार्यालय, बेल्टार, उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-१ का वर्ष ६८ का सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ का प्रकाश माझी र वर्ष ६१ का दलबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताए।
फरार प्रतिवादीलाई जिल्लाको पूर्वी भागमा लुकिछिपी बस्दै आइरहेको अवस्थामा शनिबार पक्राउ गरिएको प्रहरी प्रमुख बुढामगरले बताए। २०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक चलाउँदा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएका प्रहरीले बताएको छ।
३१ वर्षअघि तत्कालीन जिल्ला अदालतले अभियुक्तलाई दोषी भएको भन्दै केही समयको लागि कैदको फैसला सुनाएको भए पनि ती अभियुक्तहरु फरार रहँदै आएको र गोप्य सूचनाको आधारमा अभियुक्त लामो समय जिल्ला बाहिर र हाल जिल्लाभित्रै लुकिछिपी बस्दै आएको बुझिएपछि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।