नयाँ दिल्ली- भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले ट्रेड प्रमोसन काउन्सिल अफ इन्डिया (टिपिसिआई)का पदाधिकारीहरुसँग भेट गरी द्विपक्षीय व्यापारिक सम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरेका छन्।
सन् २०१८ मा टिपिसिआई र नेपाल चेम्बरबीच लगानी अभिवृद्धि गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। छलफलमा दुवै पक्षले भविष्यमा सहयोग र सहकार्यका क्षेत्रहरु पहिचान गर्ने बताएका थिए। नेपाल-भारत सम्बन्ध केवल मालवस्तुको आयात/निर्यातमा भन्दा पनि नवीन प्रविधि भित्र्याउने विषयमा समेत जोड दिनुपर्ने बताइएको छ।
यसका साथै दुईपक्षीय व्यवसायिक प्रतिनिधि मण्डलको भ्रमण समय समयमा हुनु पर्ने, टिपिसिआईसँग पर्यटन, कृषि,जडिबुटीको उत्पादनदेखि निकासी प्रवर्द्धन गर्नमा सहकार्य गर्न आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताएका थिए।
अध्यक्ष श्रेष्ठले भारतको कूल जनसंख्याको ०.०१ प्रतिशत मात्र पनि पर्यटकका रुपमा नेपाल भ्रमणमा आएमा नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताए। साथै उनले चेम्बरले २०२० फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पो २०२० मा टिपिसिआईको सहभागिताका लागि अनुरोधसमेत गरेका थिए।
सोही छलफलमा टिपिसिआई अध्यक्ष मोहित सिङ्लाले नेपाल पहाडी मुलुक भएको र दुई मुलुकबीच आपसी हितका संम्भाव्य परियोजना लागू गर्न र वातावरण संरक्षणमा जोड दिन सकेमा व्यापार लगानीका अतिरिक्त पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने गरी आफ्नो संस्थाले व्यापार र लगानी बढाउन सहजकर्ताको भूमिका खेल्ने बताएका छन्।
टिपिसिआईका तर्फबाट परिषदका अध्यक्ष मोहित सिङ्ला, सहमहानिर्देशक कपिल गुप्ता, सहमहानिर्देशक सुरेस कुमार मखिजानी र निर्देशक अशोक सेठीको सो छलफलमा उपस्थिति रहेको थियो।
नेपाल चेम्बर अफ कमर्शबाट सो भेटघाटमा नेपाल महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ, अर्घाखाँची चेम्बरका सदस्य टंक प्रसाद पोखरेल, कर्पोरेट सदस्य पंकज जोशी र नेपाल चेम्बरका अधिकृत श्रृष्टि त्रिपाठीको सहभागिता रहेको थियो।
नयाँदिल्ली स्थित एशोसिएटेट चेम्बर अफ कमर्श (एशोचेम)ले आयोजना गरेको छुट्टै अन्तर्क्रियामासमेत सो टोली सहभागी भएको छ। सो छलफलमा पनि दुईपक्षीय व्यापार, लगानी र आर्थिक सम्बन्ध अभिवृद्धिमा खेलेको भूमिका सह्रानीय रहेको भन्दै दुवै पक्षले एक अर्काको प्रशंशा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।