काठमाडौं- नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका छन्। नेपाल र अष्ट्रियाबीच बनेको ऊर्जा संयन्त्रको पहिलो सचिवस्तरीय बैठकमा दुवै देश ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार भएका हुन्।
काठमाडौंमा सोमबार बसेको संयन्त्रको पहिलो बैठकमा नेपालको तर्फबाट उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे र अष्ट्रियाको तर्फबाट प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टिलर सहभागी बैठकले यस्तो सहमति जुटाएको हो।
सम्झौतापत्रमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल र अष्ट्रियाबाट सल्लाहकार सोन्जा स्टीलरले हस्ताक्षर गरेका छन्।
संयन्त्रको पहिलो बैठकमा ६ सय ३५ मेगावटको दूधकोशी र १ सय मेगावाटको तामाकोशी–५ जलविद्युत आयोजनामा आवश्यक लगानी सहयोग गर्ने र अन्य जलविद्युत आयोजनाहरुको हकमा समेत भविष्यमा सहकार्य गर्ने सहमति भएको उर्जामन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले बताए।
नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्षमता अभिवृद्धिको लागिसमेत प्राविधिक सहयोग गर्ने समझदारी बनेको छ।
नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा गत जेठ ८ मा हस्ताक्षर भएको थियो। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले अष्ट्रियाको राजधानी भियनामा त्यहांका समकक्षी एन्दे्रईस रेईकार्डसंग सो सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
दुई देशबीच उर्जाको क्षेत्रमा आर्थीक लगानी, प्राविधीक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने उक्त सहमतिमा उल्लेख थियो।
ऊर्जामन्त्रीसँग अष्ट्रियन प्रतिनिधिमण्डलको भेटवार्ता
उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनसंग अष्ट्रियाको यातायात तथा प्रविधि हेर्ने उपमन्त्रीका सल्लाहकार सोन्जा स्टीलर नेतृत्वको प्रतिनिधीमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
ऊर्जा संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आएको उक्त टोलीले मन्त्री पुनसँग सोमबार भेटवार्ता गरेको हो।
भेटमा सल्लाहकार सोन्जा स्टीलरले नेपालको जलविद्युत क्षेत्रका दुई परियोजनामा थप लगानी गर्न दुवै पक्षको सहमत भएको जानकारी दिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।