काठमाडौं- सरकारले सुरुङमार्ग निर्माणलाई उच्च प्राथमिकता दिने भएको छ। चलू आर्थिक वर्षभित्र देशका विभिन्न स्थानमा बन्ने ७ वटा सुरुङमार्गको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारिने बताइएको छ। डिपिआर तयार भएसँगै सुरुङमार्ग निर्माण थालिने छ।
नागढुंगा सुरुङमार्ग उद्घाटनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेर काम सुरु गरेको बताए।
महासेठले यो आर्थिक वर्षमा ७ वटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउने सम्बन्धित निकायलाई निर्देशन दिइ सकेको बताए। ‘अब सरकारको प्राथमिकता भौगोलिक अवस्थाले केही असहज देखिएको सडकमार्गमा सुरुङको सहायताले सहज बनाउने तर्फ रहने छ,’ महासेठले भने, ‘सुरुङमार्ग निर्माणले अब गति लियो।’
चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोट लगायतका ७ स्थानमा सुरुङमार्गको डिपिआर बनाउने काम भइरहेको उनले बताए। यो आर्थिक वर्ष भित्र ७ वटा सुरुङमार्गको अध्ययन गरेर छिट्टै उक्त सुरुङमार्ग निर्माण गरिने महासेठको दाबी छ।
नेपालमा सुरुङमार्गको इतिहास लामो रहे पनि पछिल्लो समय प्राथमिकता नपाउँदा बन्न नसकेको महासेठको भनाइ छ। सडक मार्गलाई छोट्याउन र सहज बनाउन नेपालमा १ सय ३ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाइएको थियो। अमलेगञ्ज–हेटौंडा सकडखण्डमा राणाहरुले बनाएको ७ सय मिटरको सुरुङमार्ग अवशेष मात्र रहेको छ।
तर अब भने सरकारले सडक यातायातलाई सहज बनाउन सुरुङमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने महासेठले बताए। ‘नागढुंगा सुरुङमार्गको निर्माण नै सुरु भइसक्यो,’ उनले भने, ‘यो संगै प्राथमिकता र आवश्यकताका आधारमा सुरुङमार्गहरु निर्माण गर्दै लगिनेछ।’ देशमा अब सुरुङ युगको सुरुवात भएको समेत उनको दाबी छ।
गत महिना भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा काठमाडौंबाट चिनियाँ नाका रसुवासम्म जाने सडकमा सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको छ। यो समझदारी अनुसार टोखा–छहरे र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्ग बनाउन अध्ययन गरिनेछ।
चिनियाँ प्राविधिक नेपाल आएर अध्ययन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। सडक विभागले पनि विभिन्न स्थानमा सुरुङमार्ग बनाउन अध्ययन गर्दैछ। विभागले यो वर्ष सुरुङमार्ग अध्ययनका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’ समेत बनाएको छ। सरकारले सिद्धबाबा, थानकोट–चित्लाङ, कुलेखानी–भीमफेदी, गोदाबरी–मानेचौर, बुटवल–नारायणगढको दाउन्ने उकालोमा समेत सुरुङमार्ग बनाउन अध्ययन गर्ने भएको छ।
त्यसैगरी, कैलालीको खुटिया–बीपीनगर–दिपायल, कास्कीको हेम्जा–नयाँपुल, दोलखाको लामाबगर, खुर्कोट–चियाबारीमा पनि सुरुङमार्गको निर्माणका लागि अध्ययन थाल्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।