राजविराज- सप्तरीको छिन्नमस्तास्थित दशगजा क्षेत्रबाट प्रहरीले गए राती लोड गरिराखेको सिक्सर पेस्तोल बरामद गरेको छ।
छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुरबाट सशस्त्र प्रहरी बल बिओपी छिन्नमस्ताको टोलीले इन्डिया मेड सिक्सर पेस्तोल बरामद गरेको हो। नेपालबाट भारततर्फ छिर्न लागेको मोटरसाईकल अचानक लडेपछि उद्धारका लागि जाँदा मोटरसाइकलमा रहेको पेस्तोल बरामद भएको इन्स्पेक्टर नवीन बुढाथोकीले बताए।
‘मोटरसाईकल लडेपछि हामी उद्धार गर्न गयौं,’ उनले भने, ‘तर, हामी पुग्दा चालक फरार भए।’ घटनास्थल दशगजाबाट ५ सय मिटरको दुरीमा छ। मोटरसाइकल उठाएर हेर्दा पछाडि लोड गरिएको बोरामा २८ थान कस्तुरी मदिरा र त्यसको बीचमा लुकाई राखेको पेस्तोल बरामद भएको बुढाथोकीले जानकारी दिए।
पेस्तोलमा दुई थान गोली लोड रहेको प्रहरीको भनाई छ। पेस्तोल र मदिरा फेला परेपछि संलग्न व्यक्तिको खोजतलास गरेपनि सीमा पार गरेर भारत प्रवेश गरेकाले पक्राउ गर्न नसकिएको बुढाथोकीले बताए।
नम्बर प्लेट नभएको थोत्रो मोटरसाईकल, मदिरा तथा पेस्तोल बोकेका आधारमा संलग्न व्यक्ति मदिरा तस्कर हुन सक्ने उनको भनाइ छ।
बरामद भएको पेस्तोल, गोली र मोटरसाईकल सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।