दुर्गेश पक्राउ परेपछि युट्युबबाट हट्यो ‘ह्याप्पी तिहार’

नेपाल लाइभ | २०७६ कार्तिक ५ मंगलबार | Tuesday, October 22, 2019 १३:०८:०० मा प्रकाशित

काठमाडौं– महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले गायक दुर्गेश थापालाई पक्राउ गरेपछि ‘ह्याप्पी तिहार’ बोलको तिहार गीत युट्युबबाट हटाइएको छ। गायक थापा यही गीत गाएर समाजमा गलत सन्देश प्रवाह गरेको आरोपमा अहिले प्रहरी नियन्त्रणमा छन्। 

महानगरिय अपराध महाशाखाका एसएसपी सहकुल थापाले नेपाल लाइभसँगको कुराकानीमा गायक थापाले गीतको गलत सन्देश प्रवाह गर्ने पक्ष डिलिट गरेपछि उनलाई छाड्ने बताएका छन्। यद्यपी गीत डिलिट भइसकेपनि अहिले गायक थापा प्रहरी नियन्त्रणमै छन्। गीत दुर्गेश थापाको अफिसियल च्यानलबाट गीत हटिसकेपनि दर्शक/श्रोताले आफ्नो निजी च्यानलबाट भने अपलोड गरिरहेका छन्। 

प्रहरीले थापालाई काठमाडौंस्थित गोगंबुबाट पक्राउ गरेको हो। गायक थापाविरुद्ध तिहारको संस्कृतिमाथि प्रहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। 

उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो। यसकै आधारमा थापा पक्राउ परेका हुन्।