काठमाडौं- चालु आर्थिक वर्षभित्रै ३ सय वटा विद्युतीय बस खरिद गर्न सरकारले रकम ३ अर्ब रुपैयाँ उपलब्ध गराए पनि विद्युतीय बसको स्पेसिफिकेसन टुंगो नलाग्दा यो प्रक्रिया रोकिएको छ।
सरकारले गत असार २९ गते सो रकम उपलब्ध गराएको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेदलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असोजभित्र विद्युतीय बस गुड्ने बताएका थिए।
तर कात्तिक लागिसक्दा समेत बसको स्पेसिफिकेसनसम्म पनि टुंगो लागेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई पैसासँगै बसको प्रारम्भिक स्पेसिफिकेसन उपलब्ध गराएको थियो। त्यसैका आधारमा साझाले विद्युतीय बसको स्पेसिफकेसन बनाइरहेको अवस्थामा सरकारले पछि तत्काल रोक्न निर्देशन दियो। योसँगै साझाको विद्युतीय बस खरिद गर्ने प्रक्रिया थप अन्यौल बनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत साझा यातायातले विद्युतीय बस खरिदमा ढिलाई भएको विषयमा अध्ययन गरिरहेको बताएका छन्। ‘सरकारले साझा यातायातलाई ३ सय विद्युतीय बस किन्न पैसा दिएको धेरै भयो,’ उनले भने, ‘स्पेसिफकेसन बनाउने लगायत बहानामा केही गढबडी त भएको छैन भनेर सरकारले छालबिन थालेको हो।’ यसबारेमा छिट्टै निष्कर्षमा पुगेर बस खरिद हुने उनको भनाइ छ।
भैतिक पूर्वाधार मन्त्रालयले केही समयअघि नै साझा यातायातले विद्युतीय बसको स्पेसिफिकेसन फेरेको भन्दै खरिद प्रक्रिया रोक्न निर्देशन दिइसकेको छ। मन्त्रालयले बनाएको स्पेसिफिकेसनभन्दा साझाले बनाएको स्पेसिफिकेसन फरक पर्ने भएपछि तत्कालको लागि विद्युतीय बस खरिद प्रक्रिया रोक्न भनिएको मन्त्रालयले जनाएको छ।
बस खरिद कमिटी गठन
साझाले विद्युतीय बसको खरिदका लागि सरकारी, स्वतन्त्र, विद्युत प्राधिकरण तथा साझा यातायातकै प्रतिनिधि राखेर कमिटी बनाएको थियो। उक्त कमिटीमा यातायात व्यवस्था विभगको १ जना, मन्त्रालयको १ जना, काठमाडौं महानगरको १ जना, विद्युत प्राधिकरणको १ जना, स्वतन्त्र विज्ञ १ जना र साझाको २ जना गरी ७ सदस्यीय कमिटी बनाएको थियो।
कमिटीको संयोजक साझा यातायातका कार्याकारी निर्देशक तुलाधर रहेका छन्।
विद्युतीय बसमा सरकारको लगाब
वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने नीति सरकारले लिएको छ। त्यस्तै सरकारले २०७५ चैतमा ल्याएको व्यापार घाटा न्यूनीकरण कार्य योजनामा समेत विद्युतीय सवारी आयातलाई प्रोत्साहन गरिने भनिएको छ। २०७५ पुस दोस्रो साता आफ्नै लगानीमा ३ सय बिजुली बस खरिद गर्ने निर्णय सरकारले मन्त्रिपरिषद्बाट गरेको थियो।
सरकार आफैले विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने भनिए पनि आर्थिक वर्ष २०७५/७६ बित्नै लाग्दा असारको अन्तिम साता मन्त्रिपरिषद्ले हतारमा निर्णय गरी विद्युतीय बस खरिद गर्न साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो। सँगै साझालाई सरकारले स्पेसिफिकेसन समेत दिएको दाबी गरेको थियो। साझाले त्यही स्पेसिफकेसनमा आधारित रहेर परिमार्जित स्पेसिफिकेसन बनाउँदै थियो। तर सरकारले उक्त प्रक्रिया तत्काल रोक्न दिर्नेशन दिएकाले विद्युतीय बस खरिद थप अन्यौल बनेको हो।
मन्त्रीको बोली र निर्णयमा अन्यौल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साउन २ गते साझा यातायातले असोजमै विद्युतीय बस किनेर सञ्चालन गर्ने बताएका थिए। तर विद्युतीय बस आउन यो वर्ष लाग्ने साझा यातायातले जनाएको छ। बस किन्ने मोडालिटी नै टुंग्याउन बाँकी रहेकाले मन्त्रीले भनेअनुसार असोजमा विद्युतीय बस आउने संभावन टरेको साझाको भनाइ छ।
सरकारले नै बनाएको स्पेसिफिकेसन गतल भएको भन्दै विद्युतीय बस खरिद प्रक्रिया तत्काल रोक्न भनेकाले बस कहिले आउँछ भन्ने विषय अन्यौलमै रहेको साझाका कार्यकारी निर्देशक भुषण तुलाधरको भनाइ छ। पहिलो चरणको बस खरिदमै ब्रेक लागेपछि चालू आर्थिक वर्षभित्र बस आउने सम्भावना करिब टरेको छ।
यता काठमाडौंमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात एक चिनियाँ कम्पनीको नेपालका लागि विद्युतीय बस बिक्रेता समेत हो। सुन्दर ट्रेडर्स मार्फत उक्त कम्पनीले विद्युतीय बस बिक्री समेत गर्ने घोषणा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले गरिसकेका छन्।
सुन्दर ट्रेडर्सले ल्याएका बससँग मिल्ने गरी साझा यातायातले स्पेसिफिकेसन बनाउने दबाब आएको हुन सक्ने आशंका समेत गरिएको छ।
गत असोज १ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया रोक्न पत्र पठाएको र सो प्रक्रिया रोकिएको तुलाधरले बताए। 'त्यसपछि हामीले मन्त्रालयलाई छलफल गरौं भनेर दुईवटा पत्र लेख्यौं, त्यसको जवाफ आएको छैन,' उनले भने।
यो पनि
मन्त्रीले असोजमा आउँछ भनेको साझाको विद्युतीय बस आउन यो वर्षभर लाग्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।