त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृतसहित १३ जनाले २४ लाख भ्रष्टाचार गरेको ठहर

नेपाल लाइभ | २०७६ कार्तिक ५ मंगलबार | Tuesday, October 22, 2019 १७:४८:०० मा प्रकाशित

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जना कर्मचारीले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई अवैधानिक रुपमा पठाउने क्रममा भ्रष्टाचार गरेको ठहर गरेको छ। 

विचौलियाहरूको मिलोमतोमा अवैधानिक रुपमा कामदार विदेश पठाउने सेटिङमा अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जना कर्मचारीहरूले सेटिङ मिलाएर प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

पराजुलीसहित भष्ट्राचारमा संलग्न मध्ये मनहरी बराल, दिनेश के (एम), तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, जगदिशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ भण्डारी, पदम प्रसाद बजगाईं, कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोज प्रकाश न्यौपाने समेतले गैरकानुनी लाभ लिएको आयोगको ठहर छ। 

उनीहरूले २ सय ४८ जनाबाट प्रतिव्यक्ति १० हजारका दरले २४ लाख ८० हजार रकम लिएका थिए।

कर्मचारीहरूको मिलोमतोमा उनीहरूले लिएको रकमको अभिलेख नरहने गरी प्रमाण समेत लोप गराइ अध्यागमनले प्रस्थान अनुमति प्रदान गरिएको थियो।

अध्यागमन अधिकृत पराजुलीसहितका कर्मचारीहरूले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ र दफा १२ को कसुर गरेको आयोगले ठहर गरेको छ। 

पराजुलीसहितका दोषीलाई कानुन बमोजिम कारबाहीको मागदाबीसहित मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

घटनामा संलग्न शंकास्पद व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।