काठमाडौं– नेपाली कांग्रेसले नागरिकमाथि एक्स्काभेटर चलाइएको घटना गम्भीर र अक्षम्य भएको बताएको छ।
सोमबार बैतडीमा सडक खन्ने क्रममा विरोध गरिरहेका स्थानीयले एक्स्काभेटरले उधिनेको भिडियो सार्वजनिक भएको थियो।
घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र स्काभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि ‘एक्स्काभेटर’ चलाइएको घटना गम्भीर र अक्षम्य छ', विज्ञप्तिमा भनिएको छ, 'नेपाली कांग्रेस यो घटनाको गहिरो छानविन गरी दोषी माथि कडा कार्वाही गर्न र घटनाका घाइतेलाई सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ।'
कांग्रेसले घटनास्थलमै पुगेर स्थानीय नागरिक, स्थानीय सरकार, राजनैतिक दलहरु, स्थानीय प्रशासन, संचारकर्मीहरु एवं आवश्यक व्यक्तिहरुसँग संवाद गरी आवश्यक निर्णय लिन र प्रतिवेदन पेश गर्न केन्द्रीय प्रतिनिधिका रुपमा बहादुर सिंह थापालाई बैतडी पठाएको छ।
थापा कञ्चनपुर जिल्लाका पूर्व सभापति समेत हुन्।
(फोटो– एभिन्युज टेलिभिजनको युट्युब च्यानलमा प्रशारित भिडियोबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।