'मिटू मुभमेन्ट'बारे केकी अधिकारी : हामीमा 'अब बोल्नुपर्छ' भन्ने आत्मविश्वास पलाइसकेको छैन

अनिल यादव | २०७६ कार्तिक ६ बुधबार | Wednesday, October 23, 2019 १९:०६:०० मा प्रकाशित

काठमाडौं- सन् २००६ मा हलिउडबाट सुरु भएको 'मिटू मुभमेन्ट' नेपाल भित्रिन झन्डै १२ वर्ष लाग्यो। अमेरिकी अभियन्ता टुराना बर्कले आफूले भोगेको यौनजन्य दुर्व्यवहारबारे खुलेर बोल्न नसक्नेहरुका निमित्त सुरु गरेको यो अभियान सन् २०१८ मा मात्रै नेपाल छिर्‍यो।

दशकभन्दा बढी समयपछि नेपाल भित्रिए पनि यस अभियानसँग जोडिएर केही तथ्य तथा घटनाहरु बाहिरिए, तर अभियानले प्रभाव जमाउन भने सकेन।

अमेरिकामै यो अभियानले गति लिन सन् २०१७ सम्म कुर्नुपर्‍यो, त्यो पनि हलिउड अभिनेत्री एलिसा मिलानोले आफ्नो 'मिटू' अनुभव सार्वजनिक रुपमा अभिव्यक्त गरेपछि मात्रै। उनले जसै आफ्नो ट्विटर ह्यान्डलबाट ‘तपाईँहरू कुनै पनि किसिमको यौनजन्य दुर्व्यवहारमा पर्नुभएको छ भने ‘मिटू’ लेखेर आफ्नो अनुभवलाई रिप्लाइ गर्नुस्’ भनेर आह्वान गरिन्, त्यसपछि संसारभर यो अभियानले चर्चा पायो।

त्यसपछि अमेरिकाको राजनीतिक, शैक्षिकदेखि व्यापारिक जगतसम्म यो अभियान डढेलोसरी फैलियो। कतिसम्म भने हार्भे वाइन्स्टिनजस्ता कहलिएका हलिउड फिल्म निर्माताले आफू कंगाल भएको घोषणानै गर्नुपर्‍यो।

भारतीय फिल्म नगरी बलिउडमा फाट्टफुट्ट घटना सतहमा आए पनि प्रभाव भने देखिएको थिएन। सन् २०१८ मा अभिनेत्री तनुश्री दत्तले जब मुख खोलिन्, हंगामा भयो। उनले चर्चित अभिनेता नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। त्यो डढेलो बढ्दा बलिउडका धेरै हस्तीको ‘स्वच्छ छवी’ धमिलो भयो। सोही अभियानकै कारण गायक अनु मलिकले इन्डियन आइडलको निर्णायकको भूमिका बीचमै छाड्न बाध्य भएका थिए।

हलिउड र बलिउडका अभिनेत्रीले आफूले भोगेको यौन दुर्व्यव्यहारको फेहरिस्त खुलेर सुनाउन थाले पनि नेपाली फिल्म क्षेत्रमा भने अझै यो मामिला मौन छ। बरु नेपाली रंगमञ्चमा हुने यौन दुर्व्यव्यहारबारे 'शुक्रबार' साप्ताहिकसँग केही कलाकारले मुख खोलिसकेका छन्।

संगीत क्षेत्रमा 'स्टेज सो' दिलाइदिने प्रलोभनमा हुने शोषणमाथिको कथा पनि केही हदसम्म बाहिर आइरहेका छन्। तर, फिल्म क्षेत्र किन मौन? यहाँ दुर्व्यव्यवहार नै नहुने या बोल्न सक्ने अवस्था अझै सिर्जना नभएको हो?

केही साताअघि नेपाल लाइभको स्टुडियोमा आएकी अभिनेत्री केकी अधिकारीसँग हामीले यही जिज्ञासा राख्यौं। जवाफमा उनले अझै बोल्न सक्ने अवस्था नभएको यथार्थ सुनाइन्।

‘दुर्व्यवहार जुनसुकै क्षेत्रमा पनि हुन्छ, यसमा त कुनै दुविधै छैन,’ उनले भनिन्, ‘चाहे त्यो लैंगिक हिसाबले होस् या शक्तिका कारण, दुर्व्यवहार जताततै छ, तर विडम्बना हामीकहाँ बोल्न सक्दैनन्।’

‘किन बोल्न सक्दैनन् त?’

‘खासमा देश कति बलियो छ, विश्वमा यसको अवस्था कस्तो छ, त्यो देशमा बस्ने नागरिकले बोलेको कुराले विश्वव्यापी रुपमा पार्ने प्रभाव कस्तो छ, त्यसले अर्थ राख्नेरहेछ,’ जवाफमा उनले भनिन्, ‘हलिउडको कुरा गर्दा त्यो विश्वले आँखा लगाएको उद्योग हो। जतिबेला त्यहाँको यौन दुर्व्यवहारको कहालीलाग्दो कथा बाहिरयो, म त अचम्ममा परेँ। मैले व्यक्तिगत रुपमा त्यहाँ पनि त्यस्तोसम्म होला भनेर कल्पनै गरेको थिइनँ। मैले त हाम्रोमा हुन्छ तर त्यहाँ हुन्न होला भन्ने ठानेको थिएँ। त्यसैले त्यहाँ जन्मिन पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो। म गलत रहेछु।’

कहिलेकाहीँ स-सानो संकेत पाएको अवस्थामा ‘म फिमेल भएका कारणले र ऊ(पुरुष) शक्तिमा भएका कारणले नचाहेर पनि अंकमाल गर्नुपर्ने अथवा फरक अनुभव गराउने अवस्थाहरु धेरै सिर्जना हुने केकीले सुनाइन्।

बलिउडमा एक दशकअघि नै दुर्व्यवहारको कुरा उठेको हो,' केकीले भनिन्, ‘तनुश्री दत्तले त्यतिबेलै यस्तो आवाज उठाएकी थिइन्। तर, त्यतिबेला उनको कुरा सुनिएन। अहिले हामीकहाँ जसरी दब्यो। कारण, त्यतिबेला त्यहाँ महिलाको स्थिति कस्तो थियो, विश्वमा त्यो देशको अवस्था कस्तो थियो, डिजिटल्ली प्रभाव कस्तो थियो भन्नेले त्यतिबेला त्यहाँ अर्थ राख्यो।’ 

केकीका अनुसार यहाँका कलाकारहरुमा भित्रैबाट ‘अब हामी बोल्नुपर्छ’ भन्ने आत्मविश्वास पलाइसकेको छैन। बाहिरको प्रभाव देखेरमात्रै हामी जुर्मुराएजस्तो गरिरहेका छौं।

‘तपाईं आज बोलेकोे जस्तो गर्ने, अनि भोलिपल्ट केही पर्दाखेरी चाहिँ म हिजो अर्कै अवस्थामा थिएँ, ड्रंक थिएँ भन्न मिल्छ र?,’ उनी प्रश्न गर्दैै भन्छिन्, ‘त्यसैले मलाई के लाग्छ भने देशको अवस्थासँगै त्यहाँको राजनीतिक, आर्थिक, सामाजिक र महिलाको अवस्थाले यो कुरामा प्रभाव पार्ने रहेछ। नत्र महिलामाथि यौन दुर्व्यवहार त कहाँ हुँदैन र? त्यति ठूलो देशमा त हुन्छ भने हाम्रो देशमा किन हुँदैन? घर-घरमा हुन्छ, अफिस-अफिसमा हुन्छ, हाम्रै क्षेत्रमा पनि हुन्छ। तर, बोल्न सक्ने अवस्था छैन।’

‘किन छैन त बोल्न सक्ने अवस्था?’

‘पहिलो त बोल्न नै डर लाग्छ,’ वौद्धिक अभिनेत्रीको छवि बनाएकी केकी भन्छिन्, ‘अर्को सटिक केही कुरा नै हुन्न क्या भन्नलाई। मलाई दुर्व्यवहारजस्तो फिल भयो भने मैले त्यसलाई शब्दमा यो-यो भयो भनेर भन्न पनि सक्दिनँ। मलाई ‘इमोसनल्ली’ नराम्रो महसुस भयो, म त्यसको शिकार भएँ भने मसँग त्यसलाई प्रष्टसँग व्याख्या गर्ने शब्द नै हुँदैन क्या मिटुमा।’

प्रेम, समझदारी र संवेदनाका कारण भएका गतिविधिले पनि मिटुमा स्थान पाउँदा यस अभियान कमजोर भएको केकीको बुझाई छ। ‘कतिपय समझदारीमा भए, प्रेम र संवेदनाका कारण भएका कुराले पनि मिटुमा स्थान पाए,’ उनी भन्छिन्, ‘त्यसले गर्दा पनि कति कुराहरु सही आए, कति गलत। त्यही कारण पनि मान्छेहरु बोल्नलाई हच्किन थालेका हुन्।’

‘तपाईं आफैंले कहीँकतै कुनैबेला दुर्व्यवहारको सामना गर्नुपर्‍यो कि परेन?’

जवाफमा केकीले भनिन्, ‘लक्किली भन्नुपर्ला, मैले पूर्णतः त्यसरी दुर्व्यवहारको सामना गर्नुपरेन। तर, दुर्व्यवहार तपाईंसँग शारीरिक रुपमा नै भएको हुनुपर्दैन। यदि तिमी काम चाहन्छौ भने मसँग सुत्नुपर्छ नै भनेको हुनुपर्दैन। विभिन्न इसाराले, विभिन्न तरिकाले पनि भइरहेका हुनसक्छन्। त्यसमा आफ्नै कमजोरी पनि हुनसक्छ। आफू कन्फिडेन्ट नभएका कारणले गर्दा पनि भएको हुनसक्छ।’

‘त्यहाँ दुई मिनेट मलाई असहज हुँदा म उठेर प्रतिकार गर्न सकिनँ भने सायद त्यो मेरो पनि त कमजोरी हो,’ उनले थप भनिन्, ‘त्यसैले म भन्छु नराम्रो महसुस हुने समय गुजारियो, तर पूर्णतः यौन दुर्व्यवहार नै भोग्नुचाहिँ परेन। तर, यस्तो धेरै कलाकार हुनुहुन्छ, जसले दुर्व्यवहार भोग्नुभएको छ। मैले देख्या छु। कतिपयको स्टोरी सुनेको पनि छु।’

नेपाली फिल्म क्षेत्रमा 'चान्स' मार्न खोज्नेको कमी छैन। केकीलाई सोधियो, 'कहिल्यै कसैबाट चान्स मार्ने प्रयास पनि भएन?'

जवाफमा उनले भनिन्, ‘एउटै तह र तप्कामा भएका मान्छे हत्तपत्त दुर्व्यवहारमा पर्दैनन्। कलाकारहरु संघर्ष गरिरहेको समयमा नै बढी यो अवस्थाबाट गुज्रिने हो। सायद मेरो बाबा (बद्री अधिकारी) यही क्षेत्रको भएकाले मलाई त्यसरी चान्स मार्ने प्रयास कसैले गरेनन्।’