काठमाडौं- वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था बमोजिम धरौटी रकम थप गर्न नसकी इजाजत खारेज भएका म्यानपावरहरूले युवाहरूलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ।
वैदेशिक रोजगार विभागले इजाजत खारेज भएका म्यानपावरहरूले अवैधानिक रुपमा कामदारबाट रकम असुली रहेको फेला पारेको हो।
चप्पल कारखाना काठमाडौंस्थित सि लिङ्क ओभर्सिस प्रालिको इजाजत रद्द भए पनि श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्दै आइरहेको तथ्य विभागले फेला पारेको छ।
निमिका शेर्पासहित ७ जना व्यक्तिहरूको सक्कल राहदानी र रकम सि लिङ्क म्यानपावरले फिर्ता नगरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेपछि विभागले उक्त म्यानपावर कम्पनीमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमन टोली उक्त म्यानपावर भवनमा पुग्दा ८० जनाभन्दा बढी पीडितहरू फेला पारेको थियो।
खारेज भएको उक्त म्यानपावरले विभागको निर्देशन विपरीत हालसम्म कार्यालय खडा गरी युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाइ ठगी गर्दै आएको विभागको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
वैदेशिक रोजगारमा पठाइदिने भनी व्यक्तिहरूसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला पारेको छ।
उक्त म्यानपावरका सञ्चालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्कबिहीन भएको विभागले जनाएको छ।
राहदानी र व्यक्तिहरूले रकम बुझाएको प्रमाण भएका कागजातहरू सुरक्षित गर्नको लागि विभागले घरलाई सिलबन्दी गरेको छ।
यसअघि गत भदौ २४ गते बौद्ध प्रहरीले उक्त प्रालिले संकलन गरेका करिब १ सय ५० जना व्यक्तिहरूको राहदानी सहित प्रालिका कर्मचारीलाई बौद्धबाट नियन्त्रणमा लिई वैदेशिक रोजगार विभागमा बुझाएको थियो।
यस बारेमा विभागले अनुसन्धान गरिहेको छ भने फरार सञ्चालक विरुद कानुनी कारबाही अगाडि बढाएको छ।
पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी सोझासाझा व्यक्तिहरुलाई झुक्याई राहदानी र रकम वुझ्ने काम गरिरहेको मौखिक गुनासाहरु विभागमा बढ्न थालेका छन्।
त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थाबारेमा जानकारी प्राप्त भएमा वैदेशिक रोजगार विभागमा जानकारी गराउन विभागले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।