जनकपुर- जनकपुरमा आज बिहानै एक व्यवसायीकाे गाेली प्रहार गरी हत्या गरिएकाे छ। जनकपुरधाम-१४, मुजेलियामा व्यवसायी मनोज साहको आज बिहान गोली हानी हत्या गरिएको हाे।
जनकपुरधाम-१ बस्ने ४१ वर्षीय साहलाई आफ्नै साथी जनकपुरधाम उपमहानरपालिका-१४, मुजेलियास्थित कवर्ड हल नजिक घर भएका ३५ वर्षीय पंकज चौधरीले गोली प्रहार गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
बुधबार बिहान करिब १० बजे मुजेलियामा मनोज साहको कोखामा चौधरीले गोली प्रहार गरेपछि उनलाई गम्भीर अवस्थामा जनकपुरस्थित अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी कार्कीले बताए। साहको शव जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ।
गोली प्रहार गर्ने पंकज चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले घरबाट हतियारसहित गिरफ्तार गरेको छ। साहलाई पेस्तोल एक थान र १९ राउण्ड गोलीसहित कटुवा पेस्तोलको ३ राउण्ड गोली समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतक साह र चौधरी दुवै जना ठेकेदार हुन्। साहले लक्ष्मिनिया गाउँपालिकाकाेे सपहीमा शिव आयल पेट्रोल पम्प सञ्चालन गर्दै आएका थिए। (प्रतिकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।