काठमाडौं– महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले ठमेलबाट दुर्लभ बन्यजन्तु सालकको खपेटा र छाला १ थान सहित २ जनालाई यही मंगलबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट किस्ताङ गाउँपालिका–२ घर भई काठमाडौं कपन बस्ने वर्ष २८ को नवराज न्यौपाने र गोरखा सिरान चोक गाउँपालिका–६ घर भई काठमाडौं कपन बस्ने वर्ष २२ को केशव अर्याल छन्।
उनीहरुको साथबाट बन्यजन्तुको छाला १ थान र सालकको खपेटा १ किलो ४ सय ग्राम बरामद गरेको छ। काठमाडौं महानगरपालिका–२६ ठमेल नर्सिङ चोकमा अवैध रुपमा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।