काठमाडौं- नेपाली सेनाको विभिन्न भर्ना केन्द्रहरुमा कीर्ते तथा आर्थिक लेनदेनमा संलग्न ४ सैनिकलाई नेपाली सेनाले कारबाही गरेको छ। कारबाही पर्नेमा २३ गैरसैनिक समेत छन्।
सेनामा ५ हजार ८ सय पदका लागि ४० भर्ना केन्द्रहरुमा छनोट प्रक्रिया चलिरहेकोमा कीर्ते तथा आर्थिक लेनदेनमा संलग्न सैनिक र गैरसैनिकलाई कारबाही गरिएको नेपाली सेनाले जनाएको छ।
श्री उत्तर पश्चिम पृतनाको मुख्यालयमा सञ्चालन भइरहेको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचयपत्र बनाइ कीर्ते गरेको आशंकामा ३ जना र श्री नं ५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा १ जना सैनिकलाई निगरानीमा राखी अनुसन्धानको कार्य अघि बढाइएको सेनाले जनाएको छ।
पश्चिम पृतनाको मुख्यालयअन्तर्गतको भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी ९ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान सुरु गरेको बताइएको छ।
यसैगरी सैन्य भर्ना केन्द्र जुम्ला र कैलालीमा नक्कली परीक्षार्थी पठाइ परीक्षा दिन लगाएका ४ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैरसैनिकलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको सेनाले जनाएको छ।
सेनापतिको कडा नीति
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनोट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाउने नीतिलाई कडाइका साथ कार्यान्वयनमा ल्याइरहेका छन्।
त्यसैअनुसार भर्ना छनोट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा ‘भेरिफिकेसन डेस्क’ र ‘बायोमेट्रिक मेसिन’ राखिएको सेनाले जनाएको छ।
यसबाट सेनाको भर्ना छनोट प्रक्रियामा हुने अनियमिततामा कमी आउनुका साथै त्यस्ता कारबाहीले संगठन शुद्धीकरण अभियानमा समेत टेवा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।