जब म तिम्रो इतिहासको बीच छातीमा उभिएँ ओ बुढासुब्बा!
बाँसका आँख्ला आँख्लाबाट शब्दहरू बाहिर आएर उभिए
मट्याङ्ग्रा जस्तो गोलो खिरिलो प्रश्न थियो उनीहरूसँग
गुलेली जस्तो हाडे जब्बर जिज्ञासा थियो उनीहरूसँग
तिमी चुपचाप निस्लोट निद्रामा थियौ
आँगनमा रिङ्ने घण्टीको रालो जस्तो उनीहरूको पुकारले
मेरो मस्तिस्क भत्काएर गयो
शब्दहरू सग्लासग्लै कस्तरी मान्छेमा रूपान्तरित भए
करोडौं धागोहरु एकाएक बाहिर निक्लेर गाँठोसँगै उभिए
उनीहरु सब बन्धनमा थिए
उनीहरू सब ऐठनमा थिए
उनीहरू सब बिलापमा थिए
तिम्रो सँघारमा गर्दन छिनालिएका
हाँस परेवा कुखुरा राँगा बोकाको तड्पिरहेको शरीरमा आए
बगिरहेको रगतको आहालबाट आवाजहरू पुकार्दै
रक्तकोषहरू पट्पटी फुटाएर चित्कारहरू हिलिहाङ् पर्वत उचाल्दै आए
हजारौं अतृप्त आत्माहरू जो प्रेमको असफलतामा विचलित थिए
शिर छेदन गरी पाउमा उभिएका थिए
प्रेमको शिर शरीरबाट छुटि्टएर फट्फटाइरहेको थियो
तिम्रो बगैंचाको टुप्पो छिनाएको बाँस जस्तै
असमानतामा उभिनै नसकेको दुर्गम
हेलामा बाँच्नै नसकेको किनार र सिमानाहरू
शताब्दी शताब्दी चेतना छिनाएर निकास रोकिएका थिए
बाँसका आँख्ला जस्तै विभेदको आँख्लाले कैद थियो प्रेम
छिप्पट आँख्लाबाट टुसा टुसाएझैं चेपुवा परेर पनि टुसाइरहेको थियो प्रेम
प्रत्येक बाँसका आँख्लाको सिढीँ जस्तै तह तह थियो प्रेम
प्रेम साश्वत निर्विकल्प बेजात बेरङ्ग र वर्गहीन हुनुपर्ने
प्रेम तिम्रो छातीमा उभिएको हरियो सल्लाको बोट जस्तो
निख्खुर जीवित र प्रेमिल हुनु पर्ने
तिम्रो घनघोर सितल छाया जस्तो हार्दिक हुनुपर्ने
र न उभिन्छ प्रेम, प्रेमको जगमा, आकासिन्छ प्रेमको आकाशतिर
प्रेमको टुसा चिमोटिएपछि झाँगिनु फैलिनु कसरी
प्रेम त तिम्रो घना बाँस झ्याँङको प्वाल प्वालबाट देखिने
निलो आकाश जस्तो विशाल हुनुपर्ने
वा त्यहीबाट छ्याँङ्ग आँखामा टाँसिने
समानान्तर अनन्त क्षितिज जस्तो हुनुपर्ने
बुढा सुब्बा!
आयौ र धन्न टुप्पाबिहीन रोपेछौ बाँस
टुप्पा त हाम्रो नाक रहेछ जो अहमको उचाई नाप्छ
टुप्पा त हाम्रो टुप्पी रहेछ जो श्रेणीको विभाजन गर्छ
टुप्पा त हाम्राे श्रेष्ठता रहेछ जो विभेद गोडमेल गर्छ
टुप्पा त हामीलाई सधैं थिचिरहने भार रहेछ
टुप्पा त हाम्रो नङ रहेछ छाँटिरहनु पर्ने
यो त कहाँ बढ्ने हुर्कने पलाउँने मात्र रहेछ र!
यहाँ कति सर्किनीहरू बाहुनहरूसँग आएछन्
बाँसमा खोपेछन् नाम र काटेछन् टुप्पा समान हुनलाई
यहाँ कति दर्जिनीहरू लिम्बुसँग आएछन्
र बाँधेछन् डोरा कसिलोसँग नछुटि बाँच्नलाई
कति मधेसी थरुनी यादव मुसहर आएछन्
पहाडे क्षत्री मगर गुरुङ सन्यासी आदि आदिसँग
र काटेछन् निरङ्कुस साँस्कृतिक शिर
छिनिरहेको दैनिक पशुहरूको शिर जस्तै
तिमी त जीवन थिएछौ बुढा लिम्बु!
कारण प्रेम त जीवनमा बाँच्नलाई हो नि
आवेश क्रोध यी सब युद्धलाई मात्र हुन्
होइन र?
तिमी त शताब्दीयौं पहिले आफ्नो टुप्पो छिनालेर
समानता, प्रेम भनिरहेका रहेछौ
जो आज हामी हजारौं हजारौंको बलिदानीपछि
यो ज्ञान लेखिरहेका छौं
म देखिरहेछु हजारौं हजार आत्माहरू
जो यो सुन्दर प्रेमको दुनियाँ निर्माणमा
यहाँबाट हिँडेपछि
देश निकाला भए
अपमानित भए
आत्महत्या गरे
तड्पिएर बाँचे
तथापि, उनीहरूले खोपेको नाम अमर छ
उनीहरूले बाँधेको प्रेमको बहुरङ्गीन धागो अझ कसिलो छ
ओ प्रेमको रखबारी!
ओ प्रेमको पुजारी, बुढो लिम्बु! बुढो किराँती!
मलाई भनिदेऊ
को थिए प्रथम महान् प्रेमी जोडी?
जसले तिम्रो अभियानको सुरुवातको लागि
प्रथम पटक यो संसारलाई चुनौतिका साथ
ठिङ्ग उभिएर खोप्यो आफ्नो नाम
तिम्रो टुप्पाबिहीन काँचो गुलेलीको फेदमा
र चुम्दै एक अर्कालाई सङ्खघोष गर्यो समानताको
तिम्रो आँगनबाट?
हो, त्यही प्रेमी हुँ म!
म प्रेमिल रगतले निर्मित!
म मानवताको हृदयले सुसज्जित!
म सद्भावको चेतनाले उथलपुथल!
आऊ सबै आत्माहरू!
यो बाटो मात्र प्रेमको बाटो हो
यहाँ हृदय विवेक र मस्तिष्कले मात्र हिँड्नुछ
खबरदार!
खबरदार ! हृदय शून्यहरू!
तपाईको इजाजत पत्र र राहदानी जफत गरिएको छ ।
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।