काठमाडौं- काठमाडौं महाराजगञ्जस्थित पिपलमार्गमा रहेको विक्रम गौतमको घरमा अवैध मिनि क्यासिनो सञ्चालनको सूचना केही दिनअघि नै महानगरीय प्रहरी वृत महाराजगञ्जमा आयो।
प्रहरी उपयुक्त समयको पखाईमा थियो। सोही अनुसार वृतका डिएसपी उमेश लम्सालसहितको टोली शनिबार राति १२ बजेतिर गौतमको घर निगरानी गर्न पुगेको थियो। घरलाई चारैतिरबाट घेरा हालेर भित्र प्रवेश गरेको प्रहरीले अहिलेसम्मकै सबैभन्दा बढी रकमसहित २५ जुवाडेलाई पक्राउ गर्न सफल भयो। महाराजगञ्जका डिएसपी लम्साल भन्छन्, ‘सूचना सही लागेपछि मेरै कमाण्डमा राति १२ बजे टोली त्यहाँ पुगेको थियो। कोही पनि भाग्न पाएनन्। अहिलेसम्मकै सबैभन्दा बढी रकम बरामद भएको छ।’
मिनि क्यासिनोकै रुपमा सञ्चालन भएको उक्त जुवा खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ। जुवाखालबाट एकै पटकमा बरामद भएको उक्त रकम अहिलेसम्मकै ठूलो भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।
२ करोड ६७ लाख रुपैयाँसगै प्रहरीले ३ लाख रुपैयाँको बैंक अफ काठमाडौंको चेक, ३२ थान कौडा, ४ बुक तास पनि बरामद गरेको छ। बरामद उक्त रकम गणना र्ग झण्डै तीन घण्टा लागेको डिएसपी लम्साल बताउँछन्। सबैजसो एक लाखको गड्डीका बिटो थियो।ठूलो मात्रामा रकम बरादम भएपछि प्रहरीले बोरामा उक्त रकम हालेर गाडी मार्फत प्रहरी कार्यालय लगेको थियो। मान्छेले गन्दा धेरै लाग्ने भएपछि प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट मेसिन ल्याएर गनेको थियो।
‘१२ बजेबाट सुरु भएको अपरेशन पैसा गनिसक्दा ३ बजेको थियो,’ डिएसपी लम्सालले भने, ‘त्यो पनि हामीले बैंकसँग समन्वय गरेर मेसिन ल्याएर गनेकाले छिटो भएको हो।
यी हुन् करोडौंको जुवाखालबाट पक्राउ परेका व्यक्तिहरु
- जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने विक्रम गौतम। (मिनि क्यासिनो संचालक घरधनी )
- जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नंं. ५ बस्ने राम कृष्ण के.सी.।
- दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ५ बस्ने ईन्द्र श्रेष्ठ।
- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्यम्भु बस्ने रञ्जन राजबंशी।
- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने श्याम प्रसाद पराजुली।
- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने अशोक श्रेष्ठ।
- काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिाका वडा नं. ११ बस्ने सिताराम खड्का।
- जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ११ बस्ने रोशन तामाङ्ग।
- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ बस्ने राम तामाङ्ग।
- काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिाका वडा नं. ६ बस्ने कृष्ण भण्डारी।
- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने सुमन अग्रवाल।
- जिल्ला ओखलढुङ्गा पाप्ले वडा नं. ३ घर भई बस्ने सुमन गुरुङ्ग।
- जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका वडा नं. ३ घर भई बस्ने सोवित शिलवाल।
- जिल्ला ललितपुर पुल्चोक नगरपालिका वडा नं. २० बस्ने सोहेल कार्की।
- काठमाडौं जिल्ला काठमाण्डांै महानगरपालिका वडा नं. ९ बस्ने पवन अग्रवाल।
- जिल्ला रामेछाप बागमती भण्डारी नगरपालिाका वडा नं. ३ बस्ने पवित्र कुमार कार्की।
- जिल्ला काभ्रेपलान्चोक बाल्टिङ गाँउपालिका वडा नं. ४ बस्ने बलराम सापकोटा।
- जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने धावा लामा।
- जिल्ला काठमाडौं का.म.न.पा. वाड नं. १५ बस्ने मुक्ती लामा।
- जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ९ बस्ने शम्भु बुढाथोकी।
- जिल्ला ललितपुर ठेचो नगरपालिका वडा नं. ९ गोदावरी बस्ने प्रेम थापा मगर।
- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. २ भाङगी बस्ने बुद्ध लामा।
- जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ४ बस्ने शम्भु शेर्पा।
- जिल्ला काभ्रेपलान्चोक तिमाङ गाँउपालिका वडा नं. ६ बस्ने नवाङ्ग लामा।
- जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ५ घर भई बस्ने प्रदिप बोगटी
पक्राउ परेका व्यक्तिहरु अधिकांशजसो उच्च घरानाका रहेको प्रहरीले जनाएको छ।
पूर्व राज्यमन्त्री पक्राउ नपरेको प्रहरी दाबी
२५ जना जुुवाडेसँगै पूर्व गृहराज्यमन्त्री इन्द्र बाँनिया पनि पक्राउ परेको भनिएको कुरा यर्थाथ नभएको प्रहरीले जनाएको छ।
यसबारे जानकारी दिँदै काठमाडौं परिसरका प्रवक्ता होन्द्रि बोगटी भन्छन्, जो पक्राउ परे पनि हामीले लुकाउनु पर्ने कारण छैन। हाइप्राफाइल व्यक्ति पक्राउ परेको अवस्थामा झन् प्रहरीको मारेल हाइ हुन्छ। पूर्वराज्य मन्त्री पक्राउ परेको भनिएको कुरामा कुनै यर्थाथता छैन।’
जुवा अपरेशनको नेतृत्व गरेका डिएसपी लम्सालले पनि पूर्वराज्यमन्त्री पक्राउ परेको कुरा स्वीकार गरेनन्।
यस्तो छ कारबाही प्रक्रिया
जुवा लेख्नेलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाही हुनेगर्छ। संहिताको परिच्छेद –५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूरमा जुवा पर्छ। दफा १२५ मा जुुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने उल्लेख छ।
१२५ को उपदफा १ मा कसैले जुवा खेल्नु वा खेलाउनु नहुने बताइएको छ। जुवा खेल्ने र खेलाउने गरेको पाइएमा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीसहजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।
दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरि हुने उल्लेख छ।
त्यस्तै जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जफत हुनेछ। तर जुवा खेलेको घर, कोठा, ठाउँ वा सवारी साधन जफत नहुने संहितामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।