एकतामा ओली-दाहालका दाउपेच

भानु बोखिम | २०७६ कार्तिक १३ बुधबार | Wednesday, October 30, 2019 १०:५८:०० मा प्रकाशित

नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र खड्ग प्रसाद ओलीको दुरी बढेको हल्लाले बेलाबेला नेपाली राजनीतिमा तरंग पैदा हुने गर्छ। पटकपटक बल्झिरहने यो समस्याको प्रमुख कारण दुई अध्यक्षको दाउपेच नै हो। दाउपेच नामको दीर्घरोगको बिजारोपण पनि दुई पार्टीको चुनावी तालमेलकै बेला भएको हो। 

दीर्घरोगको नकारात्मक असर समयसमयमा बल्झिरहनु स्वभाविकै हो। पूर्व एमाले र माओवादीको मिलन तथा नेकपाको निर्माण विशुद्ध स्वार्थको गणित हो। यो एकतामा सिद्धान्तको जलप पनि लगाइएको छ। तर यो प्रधान नभएर सहायक आधार मात्र हो। प्रमुख कारण तात्कालीन दुई पार्टीको अध्यक्षको स्वार्थ नै हो। 

कुनै समय दाहाल र ओली एक अर्कालाई चरम घृणा गर्थे। ओलीले तत्कालीन नेकपा माओवादीलाई जति कटाक्ष गरे, त्यति कटाक्ष एमालेका अरु नेताले सायदै गरे। माओवादीको लागि पनि ओली जति घृणित पात्र एमालेमा अरु कोही थिएनन्। यही घृणाको उपज स्वरुप माओवादीले पहिलो संविधानसभाको चुनाव प्रचारप्रसारको बेला ओलीको गाडीमाथि ढुंगा प्रहार गर्‍यो। त्यो घटनाले राम्रै चर्चा पाएको थियो उतिबेला। 

दिवंगत पत्रकार ईन्द्र लोहनीले यसै विषयमा प्रचण्डलाई प्रश्नसमेत गरेका थिए। प्रचण्डले जवाफमा ‘त्यहाँ एउटा केपी ओली भन्ने मान्छे रहेछ’ भनेका थिए। प्रचण्डले यसरी भने कि, मानौं केपी ओलीको कुनै राजनीतिक उचाई नै छैन। तर त्यो बेला 'ओली रहेछ' भन्ने खालका नेता थिएनन्। अहिलेका जस्तो राजनीतिक उचाई थिएन होला, तर ओलीले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्तित्व भइसकेका थिए। प्रचण्डले यसरी होच्याएर बोल्नुमा ओलीप्रतिको चरम घृणाभाव हो। 

कुनै समय दाहाल र ओली एक अर्कालाई चरम घृणा गर्थे। ओलीले तत्कालीन नेकपा माओवादीलाई जति कटाक्ष गरे, त्यति कटाक्ष एमालेका अरु नेताले सायदै गरे।

अर्कातिर ओली सिंगो माओवादीलाई देख्न सक्दैनथे। चुनावी तालमेल तथा पार्टी एकताको कुरा माओवादी शान्ति प्रक्रियामा आएपछि नै सुरु भएको थियो। तर तात्कालीन एमालेको एक पक्षलाई यो कुरा हजम भएन। यो समूहको नेतृत्व केपी ओलीले गर्थे। कायरहरुले मात्र माओवादीसँग एकता गर्छ भन्थे ओली। दोश्रो संविधानसभाको चुनावपछि ओली माओवादीप्रति नरम भएर प्रस्तुत हुन थाले। तर ओलीको यो रणनीति मात्र थियो। माओवादीप्रति उदार भने थिएनन् उनी। उता माओवादी दोस्रो संविधानसभाको चुनावी परिणामअनुसार पहिलो संविधानसभाभन्दा तीन गुणा खुम्चिएर विचरा बन्न पुग्यो।

संविधान निर्माणपछि धेरै राजनीतिक उत्तारचढाव भए। भारतले नाकाबन्दी लगाएपछि ओलीको लोकप्रियता बढ्यो। यसको प्रभाव स्थानीय तहको चुनावी परिणाममा देखियो। यही चुनावी परिणामले माओवादी पुरानो लयमा फर्कन सक्दैन भन्ने पनि प्रमाणित गर्‍यो। 

लेखक

माओवादी सुप्रिमो प्रचण्ड पहिलेजस्तो शक्तिशाली हुने बाटोको खोजीमा थिए। यता ओलीले आफू र आफ्नो पार्टी जति लोकप्रिय भए पनि बहुमत आउँदैन भन्ने बुझिसकेका थिए। शक्ति आर्जनका लागि संघर्षमा राजनीतिमा लागेका सबै हुन्छन्। तर पार्टी अध्यक्षका हिसाबले ओली र प्रचण्ड यसमा बढी चिन्तित थिए। प्रचण्डलाई शक्तिशाली हुनु थियो भने ओलीलाई झन् शक्तिशाली हुनु थियो। राजनीतिसँग जोडिएका अपूरा रहरहरु पार्टी एकताले नै साकार पार्न सक्थ्यो। सम्भवतः पार्टी एकता भएर नेकपा नबनेको भए पहिलो राजनीतिक दल एमाले हुन्थ्यो। तर पहिलो दल हुँदैमा ओलीको प्रधानमन्त्री हुने चाहनालाई सुनिश्चित गर्दैनथ्यो। पुष्पकमल दाहाललाई आफ्नो शक्ति खिइँदै गएको कुरा रुचिकर थिएन। दुवैको चिन्ता निवारण र सपनाको परिपूर्ति गर्ने माध्यम बन्यो, चुनावी तालमेल र पछि पार्टी एकता। 

दुवैको चिन्ता निवारण र सपनाको परिपूर्ति गर्ने माध्यम बन्यो, चुनावी तालमेल र पछि पार्टी एकता।

एमाले र माओवादी दुवै पार्टीको इतिहाससँग वर्ग सफाया र कम्युनिस्ट दर्शन जोडिएको छ। अहिले एकता प्रक्रियामा कागजी अभिलेखमा आन्दोलनको इतिहास र दर्शन अटाएको छ। तर तेश्रो विश्वको राजनीतिमा सिद्धान्तको व्यावहारिक कार्यान्वयन कम हुन्छ। आवश्यकता हेरी सिद्धान्त र दर्शनको लेप लगाएर कार्यकर्ता तथा जनतालाई दिग्भ्रमित तुल्याउने गरिन्छ। कुनै पनि राजनीतिक दलको सिद्धान्त र कार्यक्रम गौण र सीमित नेताका स्वार्थकेन्द्रित हुन पुग्छन्। नेकपा निर्माणमा पनि पूर्व एमाले र माओवादीको इतिहास, पृष्ठभूमि, राजनीतिक दर्शन, पार्टीको गोत्र सबै जोडिएको होला। तर यी जबर्जस्ती जोडिएका तत्व मात्र हुन्। प्रमुख रसायन भनेको एकाध नेताको लोभ र स्वार्थ नै हो। निश्चय नै लोभ र श्वार्थको खेलमा लेनदेन हुन्छ। राजनीतिमा लेनदेनको काम बोल्न जति सजिलो छ, उति नै गाह्रो छ व्यवहारमा उतार्न। नैतिकता नहुनेहरुले राजनीतिमा यो काम गर्छन्। नैतिकता नभएकालाई राजनीतिक शक्ति र सत्ताको रवाफ त्याग्न गाह्रो हुन्छ। 

नेकपा निर्माणमा पनि पूर्व एमाले र माओवादीको इतिहास, पृष्ठभूमि, राजनीतिक दर्शन, पार्टीको गोत्र सबै जोडिएको होला। तर यी जबर्जस्ती जोडिएका तत्व मात्र हुन्।

ओली र दाहालबीच यस्तै लडाइँ चलिरहेको छ। लेनदेनका क्रममा लाभको ठूलो हिस्सा ओलीले प्राप्त गरेका छन्। तर दाहालले ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री पदमा विराजमान गराउन मात्र एकता गरेका होइनन्। तसर्थ आलोपालो प्रधानमन्त्रीको कुरा बेलामौकामा उठ्ने गर्छ। यही कुराले दुई नेताको दुरी बढ्ने र घट्ने क्रम चलिरहन्छ। साथै एक अर्कालाई साईजमा राख्न दाहाल र ओली पार्टीभित्र दाउपेच गरिरहन्छन्। दाउपेचको क्रममा जनताको बहुदलीय जनवादको कुरा बल्झिन्छ। कहिले माओ विचारधारालाई छोड्न नहुने कुरा उठ्छ। यसले नेकपामा मतभेद कायम छ भन्ने स्पष्टै देखाउँछ। तर आवरणमा देखिएका सबै मतभेद ओली-दाहालको मनभेदका परिणाम मात्र हुन्। भारतीय जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेईका अनुसार राजनीतिमा मतभेद स्वभाविक हो, तर मनभेद चाहिँ घातक हुन्छ। मतभेदहरू सुल्झाउन सकिन्छ। मनभेद दीर्घरोग हो। एउटै पार्टी भएकाले दाहाल र ओलीबीच हिजो भिन्न पार्टीमा भए जस्तो कटाक्ष त छैन। तर आफू कसरी शक्तिशाली हुने भन्ने लडाइँकायमै छ। बेलामौकामा आफ्ना यी चाहनाहरु आफ्ना गुटमा नेतामार्फत ओली र दाहालले बाहिर ल्याउँदै आएका छन्। 

दाहाल र ओली दुवैलाई नेकपाको चिन्ता होला। तर त्यो भन्दापनि ठूलो चिन्ता पार्टीमा पकड बनाउनेमा केन्द्रित छ। यो स्वार्थ पूरा गर्न अन्य नेतालाई फकाउने, पछार्ने काम गरिरहेकै छन् दुवै अध्यक्षहरू। पार्टीभित्र दुई अध्यक्षले एकअर्कालाई असहयोग गर्ने काम त छँदैछ। उनीबीच एकअर्कालाई फकाउने काम पनि जारी छ। दुई नेताको स्वार्थको कोपभाजनमा कुन नेता पर्छ भन्ने थाहा हुँदैन। यस्तो परिस्थितिमा कार्यकर्ताको मनोबल गिर्दै गएको छ। नेकपाका कार्यकर्ता र शुभचिन्तक ओली-दाहालको द्वन्द्व चाहँदैनन्। उनीहरू पार्टी एकताको काम चाँडै सकिएर नेकपा प्रभावकारी होस् भन्ने चाहन्छन्। तर कार्यकर्ता र शुभचिन्तकको चाहनाले मात्र ओली-दाहालको द्वन्द्व टुंगिदैन। यसका निम्ति ओली र दाहालले एकअर्काको लागि त्याग गर्न सक्नुपर्छ, जो असम्भप्राय: छ। 

समय र परिस्थिति हेरेर ओली र दाहाल एकअर्कालाई धम्क्याउने गरिरहन्छन्। तर शक्तिको लडाईमा ओली र दाहालले पार्टी विभाजनको अपजस लिन भने तयार हुने छैनन्। नेकपाको अधिकांश कार्यकर्ताले चाहेजस्तो यो द्वन्द्व अन्त्य पनि हुने छैन। ओली-दाहालको अस्तित्व रहुन्जेल स्वार्थ र मनभेदको यो राजनीति चली नै रहन्छ। 

भानु बोखिमका थप लेख :