चीनसँग सपनामा चिनजान [ ब्लग ]

जनक पौड्याल | २०७६ कार्तिक १४ बिहीबार | Thursday, October 31, 2019 ०६:२०:०० मा प्रकाशित

हुन त मेरा सपना 'छ्यास्छ्यास्ती लाग्ने' खालका हुँदैनन्। 'छ्यास्छ्यास्ती लाग्ने' त हाम्रा जमानामा गाउँका ढुंगाथान (देवीथान/देउताथान?) नै थिए। कुनै ध्वजा-पताका टाँगेको वा बेरेको र अबीर, फूलपाती छरेको ढुंगाथान पुग्दा हामी भुराहरु सतर्क भइहाल्थ्यौं। त्यहाँ पुग्दा जस्तै च्यापे पनि पिसाब फेर्नु हुन्न। नजानेरै पिसाब फेरे पनि 'यहाँका देवी-देउता छ्यास्स्यास्ती लाग्ने खालका छन्, सपनामै रगत छदाएर मार्छन्' भनेर थर्कमान थियौं। सपनामा समेत बाँसघारीमा पिसाब फेरेर ओछ्यान भिजाइन्थ्यो तर ढुंगाथानको वरिपरि कहिल्यै पिसाब फेरिएन।

मेरा सपना त्यसरी छ्यास्-छ्यास्ती लाग्दा हुन् त, बच्चा बेलै म बहुत धनी भइसक्थेँ। 'गुहुमा टेकेको सपना देखे भोलिपल्ट पैसा भेटिन्छ' भन्थे। मैले त हाम्रो मक्किएको काठको टाँढे पाइखानामा दिसा गर्न बस्दा, भत्किएर गुहुको आलमा चुर्लुम्मै डुबेको सपना देखेको छु। तर, भोलिपल्ट सुक्को पैसा भेट्टाइनँ। दिनभरि सपनाको याद गरेर घुम्दा पनि अँहँ पैसो मरिगए भेटिएन।

बरु मेरा सपना 'अँध्यारोमा हानेको झट्टी लागे जस्ता' हुन्छन्। कहिलेकाहिँ ठाउँमै लागे कि भने जस्तो नि। सपनामा देखेको कुरा भोलिपल्ट देखिन्छ/भेटिन्छ नि, हो त्यस्तै। हामी सानो हुँदा 'दारमे साँढे' गाउँतिर आइरहन्थ्यो। कालो रङको दारमे बडेमानको थियो, मेरो दुईटा टाउको बराबरको त जुरो नै थियो होला। कहिलेकाहिँ आँट मिल्ने साथी भेला भएर हामी चुस्स डल्लाले हान्थ्यौं। साँढेले फनक्क फर्किएर फुँ-फुँ गर्न थाल्थ्यो। हामी कुलेलम ठोक्थ्यौं। दारमेले खेदाइरा'को छ भन्ठानेर यस्तो भाग्थ्यौं नि, सास फुलेपछि रोकिएर हेर्दा दारमे अगिकै ठाउँमा चरिरहेको हुन्थ्यो। विपनामा डल्लाले हान्दा नखेद्ने साँढेले मलाई सपनामा चाहिँ धेरै चोटि लखेटेको छ। म मरेँ-मरेँ-मरेँ भनेर ब्युँझिएर बाँचेको छु। रातभरि सपनामा खेदाउने दारमे साँढेलाई भोलिपल्ट फ्याट्ट गाउँमा आ'को पनि देखेको छु। यसरी मेरो सपना ठ्याक्कै मिलेको छ।

तपाईंले कसरी सपना देख्नुहुन्छ कुन्नि? म चाहिँ कहिलेकाहीँ अजीव सपना देख्छु। एकदमै डिटेलमा। कहिलेकाहिँ त सपनाबाट ब्युँझिएर फेरि निदाउँदा पनि अगाडि देखेकै सपनाको निरन्तरता देख्छु। आज पनि अचम्मकै सपना देखेँ। डिटेलमा देखेँ।
आउनोस् तपाईं पनि एकछिन मैले देखेको सपना हेर्नोस्।

म मेरै गाउँ (कमल गाउँपालिका-७, डाँडागाउँ) को ८ नम्बरे बाँधको छेउमा रहेको एउटा विशाल भवनभित्र छु। वरिपरि तारजाली छ। (अस्ति दशैंमा गाउँ जाँदा त्यही बाँधमा लगेर ८ वर्षे छोरालाई बल्छी र लोथा थापेर माछा मार्ने तरिका सिकाएको थिएँ। तर, त्यहाँ कुनै भवन-सवन छैन।) 

एउटा चिनजानको चिनियाँ पत्रकार साथी मेरो छेउमा छ। (विपनामा मेरो एउटा पनि चिनियाँ साथी छैन)। भवन सुनसान छ। ऊ र म मात्रै छौं। ऊ मलाई चिन्ता लिनुपर्दैन भन्ने भावमा हेरिरहेको छ। खासमा हामी 'मैले कस्तो सजाय वा न्याय पाउँछु' भनेर कुरिरहेका छौं। मलाई चिनियाँ साथीले भनेको छ, सबै मुद्दाका फैसला यहीँ हुन्छ।

घटना के थियो भन्नु होला। हामी एउटा तीनतले रेस्टुरेन्टको छतमा बसेर मस्त दारु खाइरहेका थियौं। ग्याम्बेका ग्याम्बे गरिरहेका थियौं। चिनियाँले हाम्रै गाउँमा औद्योगिक पार्क बनाइरहेका थिए। चिनियाँको बिगबिगी नै थियो। त्यही बेला एउटा मत्तु चिनियाँ ठेकेदार आएर हामीलाई साफ थर्कायो। निर्माणमा भइरहेको गडबडीबारे चिनियाँ मिडियामा समाचार लेख्यो भनेर ऊ राँक्किएको रै'छ। 'पत्रकार चोर' सम्म भन्न भ्यायो। आफ्नो बिरादरीमाथि नै धावा बोलेपछि मेरो चिनियाँ साथी जंगियो। धक्कामुक्की भई त गयो। त्यो ठेकेदार फुत्तै छतबाट खस्यो। ठाउँका ठाउँ ठहरै। (यही बेला म झस्किएर ब्युँझिनुपर्ने, तर ब्युँझिनँ)। 

(दमक नगरपालिका र कमल गाउँपालिकामा पर्ने गरी औद्योगिक पार्क निर्माण गर्न नेपाल र चिनियाँ कम्पनीबीच भएको सम्झौता। हालैको चिनियाँ राष्ट्रपतिको भव्य भ्रमण। दमकमा हुँदा नगरपालिकाका एक कर्मचारीसँग औद्योगिक पार्क निर्माणको विषयमा गरेको छलफल। उनले सुनाएको चिनियाँसँगको 'ग्याम्बे' कथा। सायद सपनामा औद्योगिक पार्क बनिरहेको देखिनुमा यिनै तानाबानाले भूमिका खेलेको हुनुपर्छ कि।)

त्यसपछि त चिनियाँ सेनाजस्ता लाग्ने मान्छेले मलाई पक्रिएर लगे, हाम्रा पुलिस चाहिँ देखिनँ। फेरि मेरो चिनियाँ साथीलाई त पक्रिएनन्। तर, ऊ मलाई मद्दत गर्ने आशा जगाउँदै वरिपरि देखा परिरहेको थियो। त्यसपछि हो, म गाउँको बाँध छेउ विशाल भवनभित्र कुरिरहेको पल।एउटा हातमा नलीखुट्टाको हड्डी बोकेर सेतै लुगा लगाएको, सेतै फुलेको छुस्स लामो दारीवाला चिनियाँ माथिल्लो तलामा देखा पर्‍यो। म झसङ्ग भएँ। छेउमा हेरेँ, मेरो चिनियाँ साथी गायब। त्यो अद्भूत चिनियाँ बुढो भुवाजस्तै हलुका उडेर म भए ठाउँ आयो। मेरो मुटु जोडजोडले धढ्कियो, थरर्र काम छुट्यो। ओठ कलेटी परे, थुक निल्नसमेत सकिनँ। उसले नलीखुट्टाको हड्डी ढोग्न लगायो। मैले ढोगेँ। त्यो हड्डीमा अलेलि आलो रगत बाँकी नै थियो।

उसले भन्यो, 'यो तैंले हत्या गरेको मान्छेको हड्डी हो। तैंले जेलमा बसेर हरेक दिन यो हड्डीलाई ढोगेपछि मात्र तँ सजाय मुक्त हुन्छस्।' 

मेरो होसो-हवास उड्यो। मैले सास बटुलेर सुसेलेको स्वरमा बित्ती बिसाएँ, 'मैले हत्या गरेकै होइन। अर्को चिनियाँ साथी पनि त थियो नि सँगै। त्यो मान्छे अचानक छतबाट खसेर मरेको हो। म कसरी दोषी हुन्छु।' मैले बोलिसक्नु र मेरो गाला रन्थनिने गरी बाघेझापु भेट्नु एकैसाथ भयो। (यो पनि म ब्युँझिन सक्ने सम्भावित क्षण थियो, तर ब्युँझिन)।

मलाई तार जालीले घेरेको अर्को कम्पाउन्डमा लगे। रातो इँटाका एक कोठे घरैघर। एउटा जेल घरमा मलाई राखे। ओछ्यान राम्रै रै'छ, म घुप्लुक्कै निदाएँ। 

आँखा उघ्रिँदा जेलघरको अगाडि पर्ने आँगनमा कल्याङ-मल्याङ थियो। सबै नेपाली नै नेपाली। तर पनि एउटा चिनेको मान्छे छैन। म त्यहीँ मिसिएँ। 

एउटाले भन्यो- नेपालभित्र यसरी चिनियाँ शासन लगाएर हामीलाई थुन्न पाइँदैन नि।

अर्कोले भन्यो- सानो गल्ती गर्नु नहुने, ल्याएर थुन्ने? यो त मानवअधिकारको हनन भयो।

अझ अर्को बोल्यो- अब चीनकै कानून लाग्ने भएपछि केको मानवअधिकार?

कुनाबाट अर्कोले बक्यो- धेरै गनगन नगर, खान-सुत्न राम्रै दिएको छ त। तिमरूलाई अरू के चाहियो? बाहिर यति पनि पाउँदैनौं। काम गर, खाउ, चुपचाप बस।

केही जानकारी र सूचना नपाएको म पत्रकारको पालो आयो बोल्ने- अनि यहाँ चीनको कानून चाहिँ कसरी लागू भयो र? कहिलेदेखि यस्तो भयो ? म त दशैं मान्न भनेर भर्खरै गाउँ आको हुँ। 

जवाफ दिने अघि सर्‍यो- यो औद्योगिक क्षेत्र चीनले बनाउँदै गरेकाले यसको वरिपरि पूरै चीनकै कानून लाग्ने सम्झौता रै'छ नि त। यहाँ नेपाल सरकारको केही चल्दैन रे।
मैले थपेँ- यो त हुनै सक्दैन। यस्तो सम्झौता भएको मलाई थाहै छैन। 

उसैले थप्यो- चीनले तिमेरुको तरिकाले केही बन्दैन, हाम्रै तरिकाले बनाउँछौं भनेर फुस्ल्याएको रै'छ। त्यही थाहा नपाएर त यहाँ फसिन्छ नि। म त यो बाँधमा नसोधी माछा मारेको आरोपमा पक्राउ परेको हुँ। ठूलो गल्ती चाहिँदैन। यहाँ उनीहरुकै हैकम चल्छ। हामी सप्पैले दिनदिनै १२ घण्टा काम गर्नुपर्छ।

उसको बेलिबिस्तार पछि मलाई उकुस-मुकुस भयो। कसलाई बिन्ती बिसाऊँ, म निर्दोष भनेर। जिन्दगी कहिलेसम्म यहीँ सड्ने हो पत्तो छैन। 

त्यही बेला मलाई हड्डी ढोगाउने त्यही तिलस्मी चिनियाँ फेरि आइपुग्यो, हड्डी ढोगायो र उड्यो। कहिलेसम्म ढोग्नुपर्ने हो यो हड्डी ?  मनमनै आत्तिएँ, बल्ल त एक दिन कट्यो।

हामीलाई लाइन लगाएर खाना खान लगियो। एक जना मात्रै आँट्ने दुवैतिर अग्लो तारजाली भएको साँघुरो बाटो। चिनियाँ सैनिकको पूरै पहरा। बाँध कट्ने बित्तिकै चान्दु खोलाको डिलमै रै'छ खाना खुवाउने घर। (चान्दु खोलामै बनेको छ ८ नम्बरे बाँध)। एउटा सैनिकले खाना खाने ठाउँमा सबैलाई बस्न दियो, मलाई नयाँ भनेर उभ्भिरहन भन्यो। 

तर, एकै छिनमा त्यहाँ त चिनेजस्ता मान्छे पो खाजा खान आए। केही पत्रकार साथी नै आए। (यहाँ नाम नभनौं)। अब भने अलिकति आस पलायो। मैले आफ्नो बेलिबिस्तार लाएँ। 

तपाईं मिलाएर भाग्नोस्, यो ठाउँ कटेपछि केही हुन्न भन्ने सल्लाह दिए। चान्दु खोला देखेपछि मलाई पनि भाग्छु भन्ने आँट आयो। मलाई आँखा तरेर बस्न नदिने चिनियाँ पनि देखिनँ। खाना खाने ठाउँबाट म फुत्त बाहिर निस्किएँ। लुइँ-लुइँ खोलाको डिलैडिल उत्तरतिर बढेँ। मलाई पर जेलघरको गेटमा बसेका दुईजना चिनियाँले देखिहाले। म दौडिएँ। लगत्तै चान्दु खोलामा झ्वाम्मै हामफालेँ। चिनियाँ पनि पर बाँधबाटै हामफालेर पौडिँदै आए। मैले बाकटे हान्दै गर्दा सुनेँ, मलाई भाग्न सल्लाह दिने पत्रकारले फोन गरेर ब्रेकिङ न्युज टिपाउँदै थिए- चिनियाँ श्रम शिबिरबाट भागेको एउटा नेपाली कैदी गोली लागेर मर्‍यो।

बच्चा बेलादेखि पौडी खेलेर आफूले चिनेको त्यो फुच्चे चान्दु खोला मैले एकै सासमा पार गरेँ। त्यसपछि तुफान दौडिएँ। मलाई खेदाउने चिनियाँहरू त एकाएक दारमे साँढे पो भए। त्यसपछि म लल्याकलुलुक। कुद्नै सकिनँ। म आलीमा बुर्लुङ्ग लडेँ। दारमेले सिँगौरी हानिसकेको थियो। म मरेँमरेँमरेँ भनेर ब्युँझिएर बाँचेँ। धन्न सपना रै'छ।

तर, आजको सपना कथम्कदाचित  'अँध्यारोमा हानेको झट्टी' जसरी फ्याट्ट ठाउँमा लागिदियो भने?