छवि-शिल्पा विवाद : विवाह बदर गर्न उच्च अदालतद्वारा अस्वीकार

नेपाल लाइभ | २०७६ कार्तिक १४ बिहीबार | Thursday, October 31, 2019 १८:५६:०० मा प्रकाशित

काठमाडौं- फिल्म निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवादमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौको आदेश सदर गर्ने निर्णय गरेको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालतको आदेश बदर गर्न अस्वीकार गरेको हो। 

विवाह बदर माग गर्दै निर्माता ओझा २०७६ भदौ ३ गते बारेस कृष्णबहादुर कार्कीमार्फत् उच्च अदालत पुगेका थिए। उक्त मुद्दामा अन्तिम आदेश गर्दै उच्च अदालत पाटनले जिल्लाकै निर्णय सदर गरेको हो ।

जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार रहँदै आएका थिए। तर शिल्पाले सर्वाेच्चमा मुद्दा दायर गरेर जिल्ला अदालतको आदेश बमोजिम पक्राउ पर्नबाट बचेकी थिइन्।

सुरुमा छवि ओझा जिल्ला अदालतमा विवाह बदरको माग गर्दै पुगेका थिए। जिल्ला अदालतले उक्त निवेदन दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो।

उक्त दरपिठविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए।

जिल्ला अदालतले इजलासको निवेदनमा पनि सुनुवाई गर्दै दरपिठलाई सदर गरेको थियो।

त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए। पाटनले जिल्ला अदालतको दरपिठलाई कानुन सम्मत ठहर गरेको हो।

विवाह गरेको १५ वर्षपछि निर्माता ओझाकी पहिलो श्रीमती भएको दाबी गर्दै हेमा ओझाले जिल्ला अदालत काठमाडौमा बहुविवाद मुद्दा दायर गरेकी थिइन्। 

सर्वोच्च अदालतले भदौ १ गते नायिका शिल्पा पोखरेललाई पक्राउ नर्गन आदेश जारी गरेको थियो। 

नायिका पोखरेलले आफूमाथि महिला हिंसा भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि यी दुईबीचको विवाद सार्वजनिक भएको थियो।

लगत्तै शिल्पाले छविविरुद्ध सम्बन्धविच्छेद गर्ने तयारी गरेकी थिइन्। लगत्तै हेमा १५ वर्षपछि श्रीमतीको दाबी लिएर अदालत पुगेकी थिइन्। यसपछि छवि र शिल्पाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अदालतले दुबैका नाममा साउन ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

शिल्पा निर्माता ओझाकी चौथो श्रीमती हुन्। उनीहरुले दुई वर्षअघि नै सुटुक्क बिहे गरेका थिए।

बिहेको साक्षी विकास रौनियार र सम्झना उप्रेती रौनियार पनि थिए। तर दुवैले एक महिनाअघि मात्र बिहे स्वीकार गरेका थिए। 

यसअघि छविले नायिका रेखा थापासँग विवाह गरेका थिए। उनीहरुको सम्वन्ध लामो समय टिक्न नसकेपछि अलग्गिएका थिए।

लगत्तै उनले शिल्पासँग सम्बन्ध बनाएका थिए।  शिल्पा र छवि दुबैले  बिहे भएको स्वीकार्न तयार थिइनन्। तर  बिहे स्वीकार गरेको दुई महिना नकाट्दै फेरि झगडाको खबर बाहिरिएको  थियो। 

छविले कानको जाली फुट्ने गरी कुटपिट गरेपछि शिल्पा शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेपछि यो रहस्य बाहिरिएको  थियो।