जनकपुर- जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी आइतबारसम्मका लागि जनकपुर परिक्रमा क्षेत्रभित्र माछामासु र मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ। छठ पर्वलाई मध्येनजर गर्दै प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बिहीबार नै एक सूचना जारी गरी ४ दिनसम्म माछामासु र मदिरा निषेध गरिएको जानकारी गराएका हुन्।
'सामान्य प्रशासन ऐन २०२८' को दफा ६ बमोजिम जारी गरिएको सूचनाविपरीत कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ।
सुरक्षा व्यवस्थामा समेत कडाइ
जनकपुरमा छठ पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा समेत कडाइ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार छठ मनाउने क्रममा हुनसक्ने अवान्छित क्रियाकलापलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त पारिएको हो। धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले भने, ‘विगतका वर्षहरूमा जनकपुरमा कतै-कतै चाडपर्वको उल्लासमय वातावरणको फाइदा उठाउँदै अपराधीहरुले अप्रिय घटना समेत घटाएको हुँदा त्यस्ता घटनाहरु दोहोरिन नदिन यसपटक सुरुदेखि नै सतर्कता अपनाइएको छ।’
'छठ पर्वका अवसरमा रातिको सयममा नदी, तलाउ तथा पोखरी किनारमै बस्ने परम्परा छ,’ उनले भने, ‘यस्तोमा आपराधिक क्रियाकलाप हुने सम्भावना बढी हुन्छ, त्यसैले सुरक्षा सर्तकता बढाएका छौँ।’
जनकपुर क्षेत्रसहित ग्रामीण भेगमा समेत प्रहरीले सुरक्षा जाँच तथा गस्ती बढाएको उनले जनाए। ‘सुरक्षा व्यवस्था कडा पार्न सशस्त्र प्रहरीसँग समेत सहकार्य गरी सीमावर्ती तथा ग्रामिण क्षेत्रमा समेत निगरानी बढाएका छौं,’ एसपी खनालले भने।
उनले चाडपर्वका अवसरमा जनकपुरसँगै धनुषाका ग्रामीण क्षेत्रहरुमा सुरक्षाकर्मीको संख्यासमेत थपिएको बताए। शंकास्पद तथा विभिन्न आपराधिक घटनामा फरार रहेका व्यक्तिमाथि समेत यो समयमा निगरानी बढाइएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मातहतका इलाका तथा प्रहरी चौकीहरूलाई आफ्ना क्षेत्रमा गस्ती तथा जाँचपड्ताल बढाउन निर्देशन दिएको एसपी खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।