काठमाडौं- गाडी लिएर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारत सिलगुढीका ४३ वर्षीय रघुप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमणिको संयुक्त टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट ६० लाख रुपैयाँ बराबरको महिन्द्राको गाडी र चोरी भएका सामान बरामद गरेको छ। उनले एकै दिन झापाको कमल गाउँपालिका-६ घर भई बिर्तामोड बस्ने ३५ वर्षीया ललिता सापकोटा, सोही ठाउँ बस्ने गीता पौडेल र मधु गुप्ताको घरमा चोरी गरेका थिए।
सापकोटाको घरबाट चोरी भएको चाँदीको कल्ली २ थान, चाँदीकै सिक्का १ थान, सुनको झुम्का १ थान, चाँदीको औठी १ थान प्रहरीले साहको साथबाट बरामद गरेको छ।
त्यस्तै पौडेलेको घरबाट चोरी भएको सुनको चुरा ३ थान, चाँदीको ब्रासलेट १ थान, सुनको सिक्री १ थान बरामद भएको अनारमणिका डिएसपी मोहन थापाले जानकारी दिए। गुप्ताको घरबाट चोरी भएको सुनको मंगलसुत्र १ थान, चाँदीको पाउजु २ जोर, नेकलेस १ थान, टपलगायतका गरगहना प्रहरीले बरामद गरेको छ।
त्यसबाहेक ३८ हजार नेपाली र १३ हजार ७ सय भारतीय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहले केही दिनअघि देखि स्थानीयको घर रेकी गर्ने र घरमा कोही भएको मौका पारेर दिउँसो चोरी गर्दै आएका थिए। प्रायजसो कार्यालय जाने र धनाढ्य व्यक्तिको घरमा उनले चोरी गर्ने गरेको डिएसपी थापाले जनाए। उनलाई पक्राउ गरेपछि एक दर्जन व्यक्तिहरु आफ्नो घरको सामान पनि चोरी भएको भन्दै प्रहरीको सम्पर्कमा आइपुगेका छन्।
एउटा ढुंगा र फलामको रडको सहयताले ताला फोड्ने र १० मिनेटभित्र चोरी गरिसकेर उनी गाडीमा आफ्नो गन्तव्यतिर लाग्ने गरेको अनुसन्धानबाट पाइएको डिएसपी थापाले जानकारी दिए। चोर्न प्रयोग भएको ढुंगा र रडसमेत प्रहरीले बरामद गरेको छ।
चोरी गरिसकेपछि उनले ढुंगा त्यहीँ छाड्ने गरेका थिए भने रड भने आफ्नो गाडीमा हालेर लैजाने गरेका थिए। यसरी चोरी गरिएका सामान उनले सीमावर्ती भारतमा लगेर बेच्ने गरेको पाइएको छ।
पक्राउ परेका साह हरेक दिन भन्सार कार्यालय पुग्ने र ५ सय रुपैयाँ राजस्व तिरेर नेपालमा भारतीय नम्बर प्लेटको गाडी चलाउँदै चोर्ने गर्थे।
अन्ततः उनलाई प्रहरीले सिसिटिभी फुटेजको आधारमा पक्राउ गर्न सफल भएको हो। चोरी गरेर बाहिरँदै गरेको सिसिटिभी फुटेजमा देखिएपछि प्रहरीले सोही आधारमा उनी कात्तिक १३ गते राति ८ बजे बिर्तामोड नगरपालिका-५, कोहिनुर होटल एन्ड लज अगाडिबाट पक्राउ परेका हुन्।
प्रहरीले चोरी गर्न प्रयोग भएको डब्लू ७४ एम २७२४ नम्बरको कार पनि बरामद गरेको छ। उनले काँकडभित्तादेखि सप्तकोशी क्षेत्रसम्म आफ्नो इलाका बनाएर चोरी गर्ने गर्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।