राजविराज- बालिका चोरी गरेको आरोपमा एक भारतीयसहित दुई जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको डाडर बैरीया गाउँ निवासी सञ्जय शर्माकी छोरी ८ वर्षीया आँचल शर्मालाई चोरी गरी भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। भारतको बिहारस्थित सुपौल ग्राम बथनाहा– १८ का २० वर्षीय आनन्द कुमार गोसाई र बैरियाघाटका १८ वर्षीय अनिल कुमार झालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–९, हनुमाननगर बजारका ३९ वर्षीय मामा अमित शर्माको घरमा आएकी बालिकालाई उनीहरूले जबरजस्ती साइकलमा राखेर लगिरहेको अवस्थामा नियन्त्रणमा लिइएको डिएसपी तिलक भारतीले बताए।
जबरजस्ती लान खोजेपछि बालिका चिच्याएको र उनकी हजुरआमा ५५ वर्षीया साबित्री देबी शर्माले देखेपछि स्थानियबासीहरूले दुवैलाई घेरा हालेर समातेका थिए। स्थानीयवासीकै सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्स्पेक्टर कमल कुमार लुङ्गेलीले बताए।
उनीहरूको साथबाट साइकल, ३ वटा प्लास्टिकको बोरा समेत बरामद भएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।