इटहरी- सप्तरीको हनुमाननगर बजार जाने बाटोमा पर्छ एक मुसहर बस्ती। सडकको छेवैमा एक महिला चुरा बेच्दै थिइन्। उनी नजिकै हाम्रो बाइक रोकिनासाथ छेउछाउका महिलाहरु आ-आफ्ना बच्चा बोलाएर काखमा राख्न थालिहाले। केही ठूलालाई आडैमा राखे।
संशकित देखिने उनीहरु एकाएक आफ्नै स्थानीय लवजमा ‘बच्चा चोर’ भन्दै हल्ला गर्न थाले। केही पर खेलिरहेका कतिपय केटोकटीहरु घरभित्र छिरे। हामीले आफ्नो परिचय दिएपछि माहोल शान्त भयो। कुरो बुझ्दा गाउँमा चोरको त्रास फैलिएको रहेछ।
पछिल्लो समय यस मुसहर बस्तीमा बालबालिका चोरी भएको हल्ला फैलिएसँगै पूरै गाउँ सशंकित छ। हनुमाननगर बजारमा पनि यसप्रति चासो र चर्चा उत्तिकै सुनिन्छ। स्थानीय जानकी सदाले छोराछोरी घरमा एक्लै छाडेर काममा जान पनि नसक्ने अवस्था भएको बताइन्।
गत कात्तिक १४ गते दिउँसो सप्तरीको हनुमाननगर बजारबाट एक बालिका चोरी भएको घटनापछि स्थानीय नयाँ मान्छे गाउँमा आउने बित्तिकै सजग हुने गरेका रहेछन्।
के थियो कात्तिक १४ को घटना?
मध्ये दिउँसो बीच बजारबाट चिया-बिस्कुट खुवाउने भन्दै एक युवाले बालिकालाई साइकलमा चढाए। बालिका पनि बिस्कुट खान पाइने भयो भनेपछि मख्ख परिन् र साइकलमा बसिन्। उनी चढेको साइकललाई अर्को एक साइकलले पनि पिछा गरिरहेको थियो।
बजारमा लगेर चिया बिस्कुट खुवाउने भनेका उनीहरुले ती बालिकालाई बजार क्षेत्रभन्दा पर लैजान लागिसकेका थिए। तर, केही समयपछि बालिकाले साइकलबाट ओर्लन बल गरिन्। त्यतिकैमा उनी चिच्याउन थालिन्। सोही क्रममा ती बालिकालाई गाउँका छिमेकीले देखेपछि जबरजस्ती साइकल रोके। एकैछिनमा स्थानीय जम्मा भइहाले। सोधीखोजी गर्दा उनीहरु अपरिचित भारतीय युवा भएको पत्ता लाग्यो।
भारतको बिहारस्थित सुपौलग्राम बथनाहा-१८ का २० वर्षीय आनन्द कुमार गोसाई र बैरियाघाटका १८ वर्षीय अनिल कुमार झाले ती बालिका चोरी गरेर भारत लैजान लागेका थिए। सोही दिन हनुमाननगरमा मेला लाग्ने भएकोले भिडभाड धेरैनै थियो। भिडभाडमा कसैले वास्ता नगर्ने भएका कारण सोही दिन बालिका लैजान उनीहरु नेपालको सीमाभित्र छिरेका थिए।
हनुमाननगर कंकालीनी नगरपालिका-९ मा रहेको मामाघर आएकी मोरङ विराटनगरकी ८ वर्षीया आँचल शर्मा चोरीमा परेकी हुन्। मामाघरमा पूजा भएको र आमासँग पाहुना आएकी उनी चोरको फन्दामा परेकी थिइन्।
आँचलका मामा अमित शर्माका अनुसार घर बजारभन्दा केही घर भित्र पर्छ। घरबाट मुल बजार हेर्न निस्केकी उनलाई चोरले फकाएर भारत लैजान खोजेका थिए। बालिका चोरीमा संलग्न उनीहरु दुवैजना अहिले जिल्ला प्रहरी कार्यलय, राजविराजस्थित प्रहरी हिरासतमा छन्।
'हराएको भैंसी भारतबाट किनेर फिर्ता ल्याएँ'
गत साता सुनसरीको हरिनगर-७, घुस्कीका शिवनारायण शाहको भैंसी र पाडी हराए। गाउँभर चोरी भएको जनाए। तर, भैंसी र पाडीबारे केही पत्तो लागेन। भारतीय सीमा नजिकैको गाउँ भए पनि तत्कालै सीमा पारी जाने आँट उनले गरेनन्।
सीमा क्षेत्रको सो गाउँका गाईभैंसी यसअघि पनि हराउने र हराएका अधकांश चौपाया भारतमा भेटिने गरेका थिए।
भैंसीपाडी पाउने आशमा शिवनारायण केही दिनपछी भारतीय बजार घुर्ना पुगे। अन्ततः उनले पालेको भैंसी सोही बजारमा बिक्रीमा राखिएको भेटे।
हराएको हप्ता दिनपछि उनले आफ्नै भैंसी ६० हजार रुपैयाँ तिरेर फिर्ता ल्याए। 'मेरो भनेर दावी गर्ने कुनै बलियो आधार थिएन। यसकारण पनि आफ्नै भैंसी किनेर ल्याउनुपर्यो,' उनले गुनासो गरे, 'भैसी हरायो भनेर गुहार गर्ने कुनै प्रशासन छैन, कहाँ जाऔं।'
शिवनारायणजस्तै भारतीय चोरको बदमाशी सहेरै बस्न बाध्य छन् यस क्षेत्रका स्थानीय। आर्थिक उपार्जन र दैनिक जीविकाका लागि पालिएका चौपाया चोरी हुने अनि चोरिएका चौपाया आफैंले पैसा हालेर किन्नुपर्ने बाध्यता छ धेरैको।
स्थानीय दिपेन्द्रकुमार स्वर्णकारका अनुसार सीमावर्ती भारतीय बजारमा नेपाली किसानका गाईभैंसी भेटिने गरेको बताए। भने, ‘तर, के गर्नु यो मेरो भैंसी हो, चोरी गरेर यहाँ ल्याएछौ भनेर भन्ने आँट कसैको हुँदैन।’
भारतीय प्रहरीको आडमा चोरहरुले नेपालीलाई उल्टै धम्की दिने गरेको उनी सुनाउँछन्। 'त्यसैले चुपचाप पैसा तिरेर आफ्ना चौपाया ल्याउनुपर्छ,' उनले थपे।
चोरलाई खुला सीमाको फाइदा!
उता हरिनगर-७ कै अशोक उराव र मुस्ताक खाँको भैंसी हराए पनि अझैसम्म फेला परेको छैन। दूध बेचेर परिवार धान्दै आएका खाँ भैंसी चोरिएपछि समस्यामा छन्। बिहान-बेलुका गर्जो टार्न पनि सकस परिरहेको भन्दै उनले अर्को भैंसी किन्नै पर्ने बाध्यता भएको गुनासो गरे।
नेपाल-भारत खुला सीमाको फाइदा उठाउँदै भारतीय चोरहरुले नेपाली किसानका भैंसी, गाई, गोरु गोठबाटै फुकाएर लैजाने गरेको स्थानीय बताउँछन्। 'रातको समयमा त चौपायासँगै भेटेका र लान सकिने अन्य सामानहरु पनि छाड्दैनन्,' स्थानीय दिपेन्द्रकुमार स्वर्णकारले भने।
दुई साताअघि साँझ ६ बजेकै समयमा हरिनगर-६ का जावेद अन्सारीको भैंसी गोठमा बाँधिएको अवस्थामा खोल्दै गर्दा स्थानीयले देखेपछि चोरलाई खेदेका थिए। 'त्यही भैंसीको भरमा चलेको मेरो परिवार घरको न घाटको हुनबाट बच्यो,' अन्सारीले बताए।
सीमामा छैन पोख्त सुरक्षा व्यवस्था
भारतको बिहारमा रक्सीमा बन्देज लागेसँगै रक्सी खाने बहानामा आइपुग्ने भारतीयहरुले राती चौपाया चोरी गर्ने गरेको स्थानीयहरु सुनाउँछन्।
सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको खासै उपस्थिति नहुनु, सिसिटिभीजस्ता उपकरणहरुको प्रयोग नगरिनुजस्ता कारणले पनि चोरी बढाएको स्थानीय जहागिर अन्सारीको भनाइ छ।
सुरक्षा उपायहरुको पोख्त व्यवस्थापन अभावका कारण केही महिनाअघि खुर्सिद आलमको दिनदहाडै हत्या गरी भारतीयहरुको समूह सजिलैसँग भारततर्फ भागेको थियो। 'सीमामा नेपालतर्फ आधा दर्जन प्रहरीको उपस्थिति छ। आउने-जाने मानिस तथा सवारीको रेकर्ड राख्ने व्यवस्था पनि छैन। खुर्सिद मारिएको ६ महिनासम्म प्रहरीले सतर्कता बढाए पनि अहिले फेरि पहिलाको जस्तै सुरक्षा व्यवस्था फितलो छ,' स्वर्णकारले भने।
आपराधिक गतिविधि बढ्दै गएको प्रहरीको स्विकारोक्ति
यता सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोख्रेल भने चोरी नियन्त्रणको लागि आफूहरु लागिपरेको बताउँछन्। भारतीय प्रहरी तथा त्यहाँका मुखियाहरुसँग छलफलको तयारीसमेत भइरहेको उनले बताए। तर, कस्तो सतर्कता अपनाइएको भन्नेबारे भने उनी खुल्न चाहेनन्।
इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख प्रहरी निरीक्षक कमल कुमार लुङ्गेली पछिल्लो समय आपराधिक गतिविधी बढ्दै गएको स्वीकार्छन्। पहिला पशुचौपाया चोरी गर्ने समूहनै अहिले बालबालिका चोरीमा सक्रिय भएको हुनसक्ने उनले अनुमान गरे। भारतसँग खुला सिमाना भएका कारण सुरक्षा थ्रेट धेरै रहेको उनको बुझाइ छ।
बालबालिकादेखि चौपायासम्मको चोरीका कारण सीमावर्ती नेपाली बस्ती सधैं त्रासमा बाँच्न बाध्य छ। न्याय माग्न जाने कुनै ठाँउनै नपाएका उनीहरु भन्छन्, 'के सधैंभरि हामी त्रासमै बाँचिरहने हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।