काठमाडौं- मंगलबार बिहान झापाको सुरुङ्गाबाट भारततर्फ २ वटा ट्रकमा गाईगोरू तस्करी हुन लागेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बिर्तामोड र सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दुई ट्रक गाईगोरु नियन्त्रणमा लिएको छ।
तस्करी गर्न लागिएको ४९ वटा गाईगोरु नियन्त्रणमा लिइएको झापाका डिएसपी मोहन थापाले नेपाल लाइभलाई जानकारी दिए।
भारततर्फ तस्करी गरिरहेको अवस्थामा कन्काई नगरपालिका-३, तुलसीबारीबाट ना५ख ५९४६ र ना६ख ३८४१ नम्बरका दुई वटा ट्रकबाट ४९ वटा गाईगोरु नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको डिएसपी थापाले बताए।
प्रहरीले ट्रक र चालकसहित आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालय, झापामा पठाइएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा ती गाईगोरुहरु नवलपरासीबाट सोही स्थान बस्ने प्रमोद यादवले कन्काई नगरपालिका-३ बस्ने रमेश खरेललाई बुझाउने गरी पठाइएको खुल्न आएको छ। उक्त ट्रकका चालक बारा निजगढका बीरबहादुर थिङ र नवलपरासीका विजय चौधरी समेतलाई आवश्यक कारबाहीको लागि पठाइएको डिएसपी थापाले बताए।
यस्तो छ कारबाहीको व्यवस्था
'मुलुकी अपराध संहिता, २०७४' को परिच्छेद-२७ मा पशुपंक्षीसम्बन्धी कसूरका बारेमा उल्लेख गरिएको छ। उक्त संहिताको दफा २८९ मा 'कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन' भनिएको छ।
त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने स्पष्ट व्यवस्था छ। कसैले गाई वा गोरुलाई कुटपिट गरेर अङ्गभङ्ग पारेमा निजलाई ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
त्यसैगरी उक्त संहिताको दफा २९० मा कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामर्थ्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने उल्लेख छ।
उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
नेपाल सरकारले 'पशु ढुवानी मापदण्ड, २०६४' निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। जसमा अव्यवस्थित ढुवानीका कारण पशुको स्वास्थ्य, कार्यक्षमता, उत्पादन क्षमता र गुणस्तरीयतामा समेत प्रतिकूल प्रभाव पर्ने भएको र उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलब्ध गराउनका लागि ढुवानी सम्बन्धमा व्यवस्थित गर्ने उद्देश्य रहेको छ।
उक्त मापदण्डको नियम ५ मा पशुलाई ढुवानी गर्दा हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्याधिक चिसो वा तातोबाट बचाई, एकआपसमा ठोक्किएर अंगभंग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्ने र पशु ढुवानी गर्दा पशुमा तनाव हुने, सास फेर्न गाह्रो हुने, डाम पार्ने, हृदयघात, धपेडी, घाममा अत्याधिक जलन हुने, पेट ढाडिने, विषाक्तपन, शिकार, जलवियोजन, थकावट, घाउचोट, पिडा, जुध्ने र अंगभंग हुनेजस्ता अवस्था सिर्जना हुन गएमा पशुप्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था गरेको छ।
नियम १२ मा देशभित्र आन्तरिक ओसारपसार हुने पशुको हकमा गोठालासँगै पशु निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र हुनुपर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनुपर्ने, हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण प्रष्ट देखिनेगरी टाँसिएको हुनुपर्ने, पशु लोड गरिएको गाडीको विवरण र गन्तव्य स्थानमा पुग्ने समय पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ।
नियम १५ मा ढुवानी गर्ने गाडीमा पशुलाई अस्वाभाविक रुपमा शरीर, नाके डोरी, पुच्छर वा खुट्टा बाध्नु हुँदैन। नियम १७ मा पशु ढुवानी गर्दा गाडीमा जबरजस्ति कोचेर राख्नु हुँदैन भन्ने व्यवस्था छ।
नियम २६ मा ढुवानी मापदण्डअनुसार भए/नभएको सुपरीवेक्षण तथा अनुगमन गर्ने कार्य पशु क्वारेन्टाइन कार्यालय, पशु क्वारेन्टाइन चेकपोष्टहरू, जिल्ला पशु सेवा कार्यालयहरू, पशु सेवा केन्द्रहरुलाई तोकिएको छ भने सुपरीवेक्षण तथा अनुगमन कार्यमा सहयोग पुर्याउने दायित्व सुरक्षाकर्मीको हुने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।