काठमाडौं- सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको १८ जनाले ज्यान गुमाए। सिन्धुपाल्चोककै गोल्खुभन्ज्याङबाट काठमाडौं आउँदै गरेको बस साँखु लम्सेफेदीमा कात्तिक १४ गते दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भयो। यसअघि असोज २४ गते सिन्धुपाल्चोककै इन्द्रवती गाउँपालिकामा भएको बस दुर्घटना परी १४ मृत्यु हुनेको संख्या थियो।
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ बस दुर्घटना हुँदा ४ जना विद्यार्थीको मृत्यु भयो। २१ जना घाइते भए।
केही दिनको अवधिमा भएका दुर्घटनाका प्रतिनिधि घटना मात्र हुन् यी। सवारी दुर्घटनाका कारण हरेक दिन ७ जनाको ज्यान जाने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै १३ हजार ३ सय ६६ वटा दुर्घटना भएका थिए। दुर्घटनामा परेर १४ हजार ७ सय ३६ जना घाइते भएका थिए भने २ हजार ७ सय ८९ जनाको मृत्यु भएको थियो।
यसरी विभिन्न कारण दुर्घटना हुने र मृत्यु हुनेको संख्या बढ्दै गएको छ। सोमबार मात्रै मोरङमा भएको दुर्घटनामा बाबुछोरीले ज्यान गुमाए। विराटनगरको गोल्छा आँखा अस्पतालमा कार्यरत ५२ वर्षीय डा शुभलाल माझी र विराटनगरको न्युरो अस्पतालमा कार्यरत स्टाफ नर्स अञ्जलीकुमारीको ज्यान गएको थियो। डा शुभलाल र अञ्जलीकुमारी बाबुछोरी हुन्। मोटरसाइकलमा सवार उनीहरुलाई बसले ठक्कर दिएको थियो।
यी सबैजसो दुर्घटनामा चालकको लापबाही नै प्रमुख कारण भएको पाइएको छ। आइतबार सुकुटेमा १८ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा भने ओभरलोड र लापरबाही दुवै कारण रहेको पाइएको छ।
सबैभन्दा बढी दुर्घटना चालककै लापरबाहीले हुने गरेको छ। प्रहरीको तथ्याङ्कअनुसार पनि दुर्घटनाको मुख्य कारण चालक लापरबाही नै पाइएको छ। देशभरको सवारी दुर्घटनाको विश्लेषणसमेत प्रहरी प्रधान कार्यालयले गर्दै आएको छ। यसबारे जानकारी दिँदै प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विश्वराज पोखरेलले भने, ‘देशभरका दुर्घटनाको विश्लेषण गर्दा चालकको लापरबाही नै प्रमुख कारण देखिएको छ। चालकले सजग भएर मात्र चलाउने हो भने दुर्घटना आधाभन्दा कम हुन्छ।’
प्रहरीको तथ्यांकले गत आर्थिक वर्षमा भएका कुल १३ हजार ३ सय ६६ दुर्घटनामध्ये ९ हजार ९ सय १९ दुर्घटना चालकको लापरबाहीका कारण भएको देखाएको छ। यो दुर्घटनाको रेट ७४ दशमलव ३ प्रतिशत हो।
सवारी दुर्घटनाका कारण हरेक वर्ष करिब २३ सय जनाले ज्यान गुमाउने गरेका छन्। यीमध्ये ७४ प्रतिशतको ज्यान चालककै लापरबाहीका कारण गएको छ। यसरी चालककै लापरबाहीको कारण प्रतिवर्ष १ हजार ७ सय भन्दा बढीले ज्यान गुमाउने गरेको पाइएको छ। त्यसैगरी ओभरस्पिड, मादक पदार्थ सेवन (मापसे), ओभरटेक, मेसिन खराबीलगायतका कारण दुर्घटना हुँदै आएका छन्। छाडा चौपाय तथा जंगली जनावरका कारण पनि दुर्घटना हुँदै आएका छन्। गत वर्ष ८ वटा दुर्घटना जनावरका कारण भएका थिए।
यसरी चालकको लापरबाहीलगायत अन्य थुप्रै कारणले सवारी दुर्घटना हुँदा वर्षेनी धेरै मान्छेले ज्यान गुमाउँदै आएका छन्।
हरेक वर्ष साढे २३ सयले गुमाउँछन् ज्यान
प्रहरीको तथ्याङ्कअनुसार हरेक वर्ष सरदर साढे २३ सय जनाले सवारी दुर्घटनाका कारण ज्यान गुमाउँदै आएका छन्। दुर्घटना हुने र दुर्घटनाबाट मृत्यु हुनेको संख्या पनि हरेक वर्ष बढ्दै गएको छ।
प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ मा ९ हजार १ सय सवारी दुर्घटना भएका थिए। जसमा २ हजार ४ जनाले ज्यान गुमाएका थिए। ४ हजार ५३ जना गम्भीर घाइते भएका थिए भने ८ हजार १ सय २७ जना सामान्य घाइते भएका थिए।
आर्थिक वर्ष २०७२/७३ मा १० हजार १३ वटा सवारी दुर्घटना भएका थिए। जसमा २ हजार ६ जनाले ज्यान गुमाएका थिए। ४ हजार १ सय ८२ जना गम्भीर घाइते भएका थिए भने ८ हजार २ सय १३ जना सामान्य घाइते भएका थिए।
आर्थिक वर्ष २०७३/७४ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने ह्यात्तै बढेको छ। १० हजार १ सय ७८ सवारी दुर्घटनामा यस आर्थिक वर्ष २ हजार ३ सय ८४ जनाले ज्यान गुमाए। ४ हजार २ सय ५० गम्भीर र ८ हजार २ सय ९० सामान्य घाइते भएका थिए।
त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा १० हजार ९ सय ६५ सवारी दुर्घटनामा २ हजार ५ सय ४१ जनाको मृत्यु भयो। ४ हजार १ सय ४४ जना गम्भीर र ८ हजार २ सय ४७ सामान्य घाइते भएका थिए।
यसरी ५ आर्थिक वर्षमा ११ हजार ७ सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। २१ हजार ५ जना गम्भीर र ४३ हजार २ सय ३७ जना सामान्य घाइते भएका थिए।
सातै प्रदेशभन्दा दोब्बर दुर्घटना उपत्यकामा
प्रहरीको तथ्याङ्कले सातै प्रदेशभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामा हुने गरेको देखाएको छ। काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष ८ हजार ५ सय ११ सवारी दुर्घटना भएका थिए भने सात वटै प्रदेशको सवारी दुर्घटना संख्या ४ हजार ८ सय ८२ छ।
अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा सवारी चाप बढी हुनु र सडक साँघुरो भएका कारण दुर्घटना बढी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकाल बताउँछन्।
ट्राफिक तथ्याङ्कअनुसार सबैभन्दा कम दुर्घटना हुने प्रदेशमा कर्णाली हो। जहाँ गत आर्थिक वर्षमा जम्मा १ सय ४६ दुर्घटना भएका थिए। त्यसो त कर्णाली प्रदेशमा सवारीको संख्या पनि कम भएकाले दुर्घटना कम हुनु स्वभाविक हो।
त्यस्तै प्रदेश १ मा १ हजार २ सय ९७, प्रदेश २ मा ९ सय ४१, काठमाडौं उपत्यकाबाहेक प्रदेश ३ मा ७ सय ७५ दुर्घटना गत आर्थिक वर्षमा भए। गण्डकी प्रदेशमा ४ सय ६०, प्रदेश ५ मा १ हजार २९ र सुदूरपश्चिम प्रदेशमा २ सय ३४ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।
बढी दुर्घटना हुने समय भने साँझ ६ बजेदेखि राति १२ बजेसम्म छ। यो बीचमा ४०.०४ प्रतिशत दुर्घटना हुने गरेको छ। गत आर्थिक वर्ष यो समयमा ५ हजार ३ सय ५२ दुर्घटना भएका थिए। सबैभन्दा कम दुर्घटना भने रातीको १२ बजेदेखि बिहान ६ बजेसम्म हुने गरेको छ। यस बीचमा गत आर्थिक वर्ष ५ प्रतिशत अर्थात् ६ सय ६८ दुर्घटना भएका थिए। यो बीचमा कम सवारी चल्ने भएकाले दुर्घटना कम हुने गरेको छ।
सवारी दुर्घटना रोक्न ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्ने, सवारी चालकको वितरण वैज्ञानिक रुपमा हुनुपर्ने, टाइमकार्ड लागू हुनुपर्ने, लामो रुटको गाडीमा २ जना चालकको व्यवस्था हुनुपर्ने देखिन्छ। मापसे पूर्णरुपमा प्रतिबन्ध, चालकलाई ट्राफिक सचेतना, छाडा चौपाय नियन्त्रण, सडकको स्तरोन्नतिलगायतमा ध्यान दिनुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। तर दुर्घटना न्यूनीकरण भने हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।