काठमाडौं- भक्तपुरस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सले नर्सिङ पढाउने भन्दै ठगेपछि ३० जना नर्सिङका विद्यार्थीहरु अलपत्र परेका छन्।
अन्योलग्रस्त भविष्यको चिन्ताले उनीहरु कहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), त कहिले शिक्षा मन्त्रालय, त कहिले भर्ना गर्ने सोही कलेज धाइरहेका छन्।
कलेजले लिएको प्रवीणता प्रमाण पत्र तह नर्सिङ कार्यक्रमको लाइसेन्स सिटिइभिटीबाट दुई वर्षअघि नै खारेज भएको थियो। तर, भ्रमपूर्ण विज्ञापन गर्दै कलेजले दुर्गमका विद्यार्थीलाई ठगेको पाइएको छ। लाइसेन्स खारेज भए पनि विद्यार्थीहरूलाई भर्ना गरिनुले स्पष्ट रुपमा ठगी गर्ने नियत नै रहेको देखिन्छ।
कलेजले गएको शैक्षिक शत्रमा विज्ञापन गरी ३० जना विद्यार्थीको भर्ना लिई जनही ३ लाख ११ हजार रुपैयाँका दरले असुलेर अलपत्र पारेको विद्यार्थीहरुले बताएका छन्।
परीक्षा दिनबाट वञ्चित भएपछि विद्यार्थीहरू कलेज व्यवस्थापनलाई समेत घेर्न पुगेका थिए। तर, आफूले अदालतमा मुद्दा दायर गरेको भन्दै कलेज सञ्चालकहरुले विद्यार्थीलाई भ्रममा राखेको पाइएको छ।
पाटन उच्च अदालतमा उक्त कलेजका विषयमा मुद्दा विचाराधीन थियो। तर, कात्तिक ४ गते उक्त मुद्दाको अन्तिम फैसला भयो। सिटिइभिटीले कलेजको सम्बन्धन खारेज गर्नु सही रहेको अदालतको ठहर छ।
यसपश्चात् विद्यार्थीहरु आफ्नो शैक्षिक करिअर डामाडोल भएको भन्दै पछिल्लो ४ महिनादेखि विभिन्न निकायमा गुनासो गरिरहेका छन्।
तिनै पीडित ३० विद्यार्थीहरुमध्येकी एक हुन्- कमला थापा।
हेरौं कलेजबाट ठगिएकी विद्यार्थी कमला थापाको भ्लगः
यो पनिः
चक्रवर्ती नर्सिङ कलेजको ठगी-१ : अदालतको पुरानो आदेश देखाएर कलेजले ठग्यो ३० विद्यार्थी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।