काठमाडौं- विद्युत नियमन आयोगले ‘विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’को मस्यौदा तयार पारेको छ। आयोगले उक्त निर्देशिकालाई सम्बन्धित निकायसँगको आवस्यक राय सल्लाह पछि अन्तिम रुप दिइने जनाएको छ।
यही हप्ता मात्रै नेपाल विद्युत प्राधिकरण संचालक समितिले हाल कार्यान्वयनमा रहेका सबै खालका विद्युत महसुल दर संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको थियो। त्यसैगरी, सो प्रस्तावको अन्तिम स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश गर्नेसमेत निर्णय गरेको थियो। प्राधिकरणले विद्युत महसुल दर हेरफेर गर्न आयोगलाई गरेको प्रस्ताव आयोगले निर्देशिका जारी भएसँगै कार्यान्वयनमा ल्याउनेछ। निर्देशिका बमोजिम नयाँ महसल दर निर्धारण नगरेसम्म भने हाल कायम रहेको महसुल यथावत् रहेन छ।
आयोगले तयार पारेको मस्यौदामा विभिन्न ५ वटा निर्देशक सिद्धान्तको अधिनमा रही महसुल निर्धारण गर्ने जनाइएको छ। यस्ता निर्देशक सिद्धान्तमा उपभोक्ताको हकहित संरक्षण, विद्युतको आपूर्तिमा गुणस्तरको सुनिश्चितता, र वितरण अनुमतिप्राप्त व्यक्तिको व्यससायिकता तथा प्रभावकारिता अभिवृद्धिलगायत छन्।
त्यस्तै, विद्युत महसुल निर्धारणको आधारका रुपमा वितरण अनुमति प्राप्त व्यक्तिको पछिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र चालु आर्थिक वर्ष तथा आगामी आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरणलगायतका विषय समावेश गरिएको छ।
विद्युत नियमन आयोग ऐन, २०७४ को दफा १३ तथा विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ८ को उपनियम ४ अनुसार महसुल दर निर्धारण गर्ने प्रयोजनका लागि विद्युत नियमन आयोग ऐन २०७४ को दफा ४३ मा भएका व्यवस्था अनुसार आयोगले उक्त निर्देशिका तयार पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।