धनगढी- सुदुरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालयले मन्त्रिपरषद् बैठकको निर्णयसँग बाझिने गरी एम्बुलेन्स वितरण गरेको खुलासा भएको छ।
मन्त्रालयले बुधबार मात्रै धनगढीमा विशेष कार्यक्रम आयोजना गरेर १६ वटा एम्बुलेन्स वितरण गरेको थियो।
मन्त्रिपरिषद् बैठकले प्रदेशका पहाडी ७ जिल्लाका १६ वटा निर्वाचन क्षेत्रमा एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको थियो। तर मन्त्रिपरिषदको सो निर्णयसँग बाझिने गरी मन्त्रालयले तराइमा पनि एम्बुलेन्स हस्तान्तरण गरेको हो।
मन्त्रिपरिषदले पहाडी ७ जिल्लामा वितरण गर्ने निर्णय गरेको भएपनि मन्त्रालयले मन्त्री र प्रदेशसभा सदस्यको दबाबमा तराइका जिल्लामा पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो।
मन्त्रालयले दार्चुलाका हिकिला र बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको ठाउँमा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
मन्त्री र प्रदेशसभा सदस्यको दबाबमा तराइका जिल्लामा पनि एम्बुलेन्स हस्तान्तरण गरेको खुलासा भएको हो।
सामाजिक विकास मन्त्रालयले मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दार्चुलाको हिकिला र खर, बैतडीको रुद्रेश्वर र कुलाउ, बझाङगको मटेला र रायल तथा डडेल्धुराको भागेश्वर र नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स वितरण गर्ने तय गरेको छ। त्यस्तै, डोटीको जिल्ला अस्पताल र चमारा स्वास्थ्य चौकी, अछामको अछाम जिल्ला अस्पताल तथा बाब्ला, बान्नीगढी र विनायक स्वास्थ्य चौकी, बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र टाटे स्वास्थ्य चौकीमा एम्बुलेन्स दिने निर्णय गरेको थियो।
मन्त्रालयले बुधबार तराईका दुई जिल्लाका कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पातलसहित पहाडका १४ वटा अस्पताल तथा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
मन्त्रालयका अनुसार बाजुरा बढीगंगा नगरपालिका टाटे स्वास्थ्य चौकी, डाेटीकाे चमारा स्वास्थ्य चौकी, नौगाड गाउँपालिका खार स्वास्थ्य चौकी, बैतडी पञ्चेश्वर गाउँपालिका कुलाउ स्वास्थ्य चौकी, डिलासैनी गाउँपालिका डिलसैनी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो।
बझाङ छबिसपाथिभरा मटेला स्वास्थ्य चौकी, केदारस्यु गाउँपालिका रायल स्वास्थ्य चौकी, डडेल्धुरा परशुराम नगरपालिकाको जोगबुढा अस्पताल, नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
त्यस्तै डोटी जिल्ला अस्पताल, अछाम जिल्ला अस्पताल र साँफे नगरपालिकाको बाब्ला स्वास्थ्य चौकी, बान्नीगढी गाउँपालिकाको बान्नीगढी स्वास्थ्य चौकी, कमलबजार प्राथमिक स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।