आइएस पूर्वप्रमुख बग्दादी र उनकी श्रीमती अश्मा फवाजी मोहम्मद अल-कुबैसी।
एजेन्सी– अन्तर्राष्ट्रिय आतंकवादी संगठन 'आइएस आइएस'का प्रमुख अबु बकर अल बग्दादी मारिएको केही दिनभित्रै उनका परिवारका सदस्यहरु धमाधम पक्राउ पर्न थालेका छन्। उनी मारिएको केही दिनमै उनकी बहिनी पक्राउ परेकी थिइन् भने टर्कीको सेनाले बग्दादीकी श्रीमती अश्मा फवाजी मोहम्मद अल-कुबैसीलाई समेत पक्राउ गरेको छ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की सुरक्षा बलले इस्लामिक स्टेटका पूर्वप्रमुख बग्दादीकी श्रीमतीलाई गिरफ्तार गरिएको जनाएका हुन्। यसअघि मंगलबार मात्रै टर्की सेनाले बग्दादीदी दिदीलाई सिरियास्थित आफ्नै निवासवाट पक्राउ गरेको थियो।
बग्दादीले अमेरिकी विशेष कारबाहीका क्रममा आफूलाई पछ्याएको पत्ता पाएपछि आत्मघाती बम विष्फोट गरेर आत्महत्या गरेका थिए। अमेरिकाले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बग्दादीलाई खोज्न नयाँ विशेष अभियान चलाएको थियो।
बग्दादीको मृत्युलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि युद्ध जित्नु सरह मानिएको छ। तर, उनका आलोचकहरुले भने इस्लामिक स्टेटको खतरा कायम रहेको बताउँदै आएका छन्।
इस्लामिक स्टेटले बग्दादीको मृत्यु पुष्टि गर्दै नयाँ नेता समेत चयन भएको घोषणा गरिसकेको छ।
एर्दोगानले के भने?
एर्दोगानले टर्कीको राजधानी अंकरामा एक कार्यक्रममा बोल्दै पहिलोपटक बग्दादीकी श्रीमती पक्राउ परेको जानकारी गराए। साथै टर्की सुरक्षा बलले बग्दादीका हजुरबुवालाई समेत नियन्त्रणमा लिएको दावी गरे।
बग्दादी मारिएको स्थानको एरियल भ्यू। भिडियो- डेली मेल।
बग्दादीविरुद्ध चलाइएको अभियानलाई लिएर अमेरिकाले जारी गरेको विज्ञप्तितर्फ संकेत गर्दै एर्दोगानले भने, ‘अमेरिकाले बग्गादीले आफू बस्दै आएको सुरुङमा आफैंलाई अन्त्य गरेको र ट्रम्प प्रशासनले चलाएको अभियान सफल भएको भन्यो। तर, हामी पहिलोपटक भन्दैछौं कि हामीले बग्दादीकी श्रीमतीलाई गिरफ्तार गरेका छौं। यद्यपि बग्गादीको जसरी हामीले ठूलो स्वरले हल्लाखल्ला गरेका छैनौं।’
बहिनीसँग सोधपुछ जारी
एर्दोगानले बग्दादीकी बहिनी र हजुरबुवालाई पनि सिरियाबाट पक्राउ गरे पनि आफूहरुले हल्ला नगरेको बताए।
टर्कीका अधिकारीहरुले बग्गादीकी बहिनी रस्मिया अवाद पक्राउ परेको मंगलबार बताएका थिए। उनलाई नियन्त्रणमा लिएसँगै बग्दादी र आइएसका बारेमा धेरै महत्वपूर्ण सूचना समेत हासिल हुने विश्वास व्यक्त गरिएको थियो।
रिर्पोटका अनुसार उनलाई सोमबार अलप्पो प्रान्तमा उनका पति र ५ बच्चासँगै एक ट्रेलरमा बसिरहेको समयमा पक्राउ गरिएको थियो उनीहरुमाथि हाल आइएसका विषयमा रहेर सोधपुछ जारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।