पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा व्याप्त भ्रष्टाचार, विकृति र विसंगतिको विरुद्ध अभिमत प्रकट गर्न आउँदो उपनिर्वाचनमा राप्रपालाई सघाउन जनतासमक्ष आग्रह गरेका छन्।
आज कास्की-२ को मनोनयन दर्ता गर्नुअघि आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता संकटमा रहेको, प्रजातन्त्रमाथि कालो बादल लागेको भन्दै मुलुकको स्वाधिनताको रक्षाको लागि राष्ट्रवादी शक्तिलाई जनताले छनोट गर्नुपर्ने बताए।
एक सिटको कारण अहिले मुलुकको राजनीतिक समीकरणमा ठूलो फरक नपरे तापनि पोखरेली जनताले दिने सन्देश महत्वपूर्ण हुने विचार थापाले व्यक्त गरे।
भ्रस्टाचारले मुलुक थिलथिलो भएको, युवा जति मलेसिया र खाडी मुलुक भासिएको, शान्तिसुरक्षा कमजोर रहेको, आर्थिक विकास गफमा सीमित भएको भन्दै थापाले अकर्मण्यतालाई चेतावनी दिन जनताले पार्टी राजनीति भन्दा माथि उठेर निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए।
सत्ता र शक्तिको निमित्त आत्मसमर्पणवादी मानसिकता हावी भएकोमा थापाले चिन्ता प्रकट गरे।
कार्यक्रममा कास्की-२ का उम्मेदवार रोमबहादुर भण्डारीले कास्कीका जनताको माया र विश्वास पाए इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उम्मेदवारी दर्ता गर्न जानुअघि अध्यक्ष थापाले उम्मेदवार भण्डारीलाई बधाई तथा शुभकामना दिंदै दुबोको माला लगाइदिएका थिए। र्या लीमा पार्टीका नेताहरु राजीव पराजुली, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, चन्द्रबहादुर गुरुङ, मदन कार्की, राजाराम बर्तौला लगायतका नेताहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।