एटिएम ह्याक प्रकरण : विदेशीलाई थुनामा र नेपालीलाई धरौटीमा छोड्न अदालतको आदेश

नेपाल लाइभ | २०७६ कार्तिक २१ बिहीबार | Thursday, November 07, 2019 १६:०५:०० मा प्रकाशित


काठमाडौं– उच्च अदालत पाटनले नेपालको ७ वटा बैंकको एटिएम ह्याक गरेका चिनियाँ र फ्रेच नागरिकलाई थुनामा राख्न आदेश गरेको छ। उच्च अदालतको वाणिज्य इजलासले बिहीबार ६ जना विदेशी नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो। त्यस्तै नेपाली नागरिकहरु रोशनप्रसाद प्रधान, रेवती दुवाडी र देवनाथ लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ।

उच्च अदालतले  रोशन प्रधान र रेवती दुवाडीसँग २६ लाख  तथा अर्का प्रतिवादी देवनाथ लामिछानेसँग ३० लाख धरौटी माग गर्ने आदेश गरेको छ। उच्च अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले विदेशी नागरिकलाई थुनामा र नेपालीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो।  

गत भदौ १४ मा काठमाडौंस्थित ७ वटा बैंकका एटिएम बुथबाट चिनियाँ र फ्रेन्च ह्याकरले १ करोड ८९ लाख भन्दा बढी रकम झिकेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रकम झिक्नेमा संलग्न चिनियाँ नागरिकहरु लिन जैनमेङ, लिओ जाइलेई, सु लायङगाङ, क्यु युनक्विङ, चेन बिनबिनलाई होटल र दरबारमार्ग्स्थित एटिएम बुथबाट पक्राउ गरेको थियो।

एटिएमबाट अवैध रुपमा पैसा निकालेपछि नियमविपरीत मनि एक्सचेन्जमा साटिएपछि मनि एक्सचेञ्जका सञ्चालक देवनाथ लामिछाने, रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडी पनि पक्राउ परेका थिए।

फरार रहेका तीनमध्ये फ्रेन्च नागरिक छु लुई पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनबाट पक्राउ परिसकेका छन्। फरार २ चिनियाँलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन ’इन्टरपोल’लाई पत्राचार गरिसकेको छ।

प्रहरीले त्यसबेला रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १ सय ९१, कम्बोडियन रियल ५ हजार, र हङकङ डलर ८०, नक्कली भिजा कार्ड १ सय ३२ थान, १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान र ल्यापटप एक थान बरामद गरेको थियो।