काठमाडौं- विश्वकप छनोट अन्तर्गत मंसिर ३ गते कुवेतविरुद्ध दशरथ रंगशालामा हुने भनिएको खेल नहुने भएको छ। विश्वकप छनोटको खेल खेलाउन रंगशालामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले रोकेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीमा कुवेतसँगको खेल घरेलु मैदानमा गर्ने प्रस्ताव गरेको थियो।
जसमा एएफसी प्रतियोगिता समितिका प्रतिनिधि देङ्ग सिओ लोङसहितको टोलीले कात्तिक १९ गते दशरथ रंगशालाको निरिक्षण गरेको थियो। जसमा रंगशालाको चौर र प्याराफिटकै काम राम्ररी हुन नसकेको एएफसीको ठहर थियो। अहिले एएफसीले दशरथ रंगशालामा खेल हुन नसक्ने एन्फालाई समेत बताइसकेको छ।
एएफसीले दशरथ रंगशालामा खेल हुन नसक्ने जानकारी दिएसँगै आफूहरुले भुटानको चाङलिमिथाङ रंगशालामा खेल सञ्चालन गर्न फिफा र एएफसीसँग प्रस्ताव गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन्।
‘सबै प्रकारको अधिकतम प्रयत्नका बावजुद नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला समयमा नै पुन निर्माण हुन नसक्दा दुःख लागेको’ भन्दै फुटबल समर्थकसँग माफि माग्दै एन्फाले विज्ञप्तीसमेत जारी गरेको छ।
कतारमा २०२२ मा हुने विश्वकप फुटबल र २०२३ मा चिनमा हुने एसियन कप फुटबल अन्तर्गतको छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्। जसअन्तर्गत नेपालले अवे मैदानमा हुने चारै खेल खेलिसकेको छ।
यसअघि नेपालले आफ्नो पहिलो खेल गएको भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय हुँदा नै दशरथ रङ्गशालाको पुनर्निर्माणको काम नसकिएकाले कुवेतमा गएर नै खेलेको थियो। त्यसबेला नेपालले होम एन्ड अवे दुवै खेल कुवेतमा नै खेल्न आग्रह गरेको थियो। तर फिफाले दुवै खेल कुवेतमा हुन नसक्ने भन्दै रोकेको थियो।
एन्फाले सुरुदेखि नै चाइनिज ताइपेई, जोर्डन र कुवेतलाई नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल सार्न अनुरोध गरेअनुसार नेपालले सुरुका खेलहरु अवे मैदानमा खेल्ने स्वीकृति पाएको थियो। दशरथ रंगशालाको पुनर्निर्माण सकिने भन्दै मंसिर ३ गतेको खेल भने घरेलु मैदानका लागि तय भएको थियो। तर पुनर्निर्माण नसकिएकाले एन्फा निरिह हुँदै नेपालको खेल भुटानमा गराउन प्रस्ताव गरिरहेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाधार तथा एन्फाले मैदानको जिम्मा लिएर काम अघि बढाए पनि समयमै काम हुन नसकेको हो। २०७२ को वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भएको रंगशालाको पुनर्निर्माणको मिति सर्दै जाँदा अहिलेसम्म पनि काम सकिन नसकेको हो।
नेपालमा नै आउँदो मंसिर १५ देखि २४ गतेसम्म हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पनि दशरथ रंगशालाको पुनर्निर्माण समयमा सक्नु आवश्यक थियो। त्यसअघि नै कुवेतविरुद्धको विश्वकप छनोट खेल नेपालमा नै गर्ने गरी सबै तयारी भएको र समयमा नै काम पूरा गर्ने राखेप सदस्यसचिव रमेश सिलवालले पनि हरेक कार्यक्रममा बताउँदै आएका थिए।
विश्वकप छनोटमा अस्ट्रेलिया र जोर्डनसँग खेल्न जानुअघि गएको असोज १४ गते भएको बिदाइ कार्यक्रममा नेपाली टिमका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा हुने भनिएका खेल दशरथ रंगशालामा नै खेल्न पाऔँ भन्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र राखेप सदस्यसचिव रमेश सिलवालसमक्ष आग्रह गरेका थिए। उक्त कार्यक्रममा नै राखेप सदस्यसचिव सिलवालले कुवेतविरुद्ध घरेलु मैदानमा नै खेल गराउन दशरथ रंगशालाको पुनर्निर्माण समयमा नै सकाउने वाचा गरेका थिए। त्यसपछि पनि हरेकजसो कार्यक्रममा रंगशालाको पुनर्निर्माण समयमा सकिने भाषण सुनिए पनि काम भने सन्तोषजनक हुन नसकेको एएफसीको निर्णयपछि पनि प्रष्ट भएको छ।
विश्वकप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० ले हराएको थियो। गएको महिना नेपाल अवे खेलमा अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो।
नेपालले दशरथ रंगशालामा मंसिर ३ गते कुवेतसँग खेल्ने तालिकासँगै चैत १३ गते चाइनिज ताइपेइसँग, आउँदो वर्ष जेठ २२ गते जोर्डनसँग र चैत १८ गते अस्ट्रेलियासँग दशरथ रंगशालामा नै खेल्ने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।