काठमाडौं- भारतबाट चोरी गरेर ल्याई नेपालमा वैधानिक बनाइएका गाडी २५ लाख भारतीय रुपैयाँमा किनिएको पाइएको छ। चोरी गरेर ल्याउनेले टोयोटाको नयाँ दुईवटा 'फर्चुनर' कार जम्मा २५ लाख भारतीय रुपैयाँमा (४० लाख रुपैयाँ) गिरोहले किनेको भेटिएको हो।
उक्त कारमा यातायात कार्यालयको कर्मचारीको संलग्नतामा नम्बर प्लेटसमेत लगाई सकिएको थियो। यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा वैधानिक रुपमा दर्ता भएका ती सवारीलाई सरुवा सहमति (स्थानान्तरण) दिइसकिएको राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट खुलेको छ। वैधानिक रुपमा दर्ता भएका गाडीलाई सरुवा सहमति दिइएसँगै चोरीका गाडीमा उल्लेखित नम्बर स्वतः वैधानिक बनाउन खोजिएको देखिन्छ।
भारतबाट ल्याइएको '२०१९' मोडलको दुईवटा फर्चुनर कार यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी, एकान्तकुनामा दर्ता भएको छ। तर, ती गाडीहरु जुन नम्बरमा दर्ता भएका छन्, कार्यालयको रेकर्डमा भने अर्कै गाडी दर्ता गरिएको छ।
कार्यालयको रेकर्डअनुसार बा२१च ५५६२ नम्बरमा महिन्द्राको 'स्कर्पियो' गाडी दर्ता भएको छ। भारतबाट चोरेर ल्याइएका दुईवटा फर्चुनरमध्ये एक सोही नम्बरमा दर्ता भएको छ। त्यस्तै, चोरीको अर्को फर्चुनरमा लगाइएको नम्बर प्लेट बा२१च ४७१६ रहेको छ। तर, कार्यालयको रेकर्डमा यो नम्बरमा मारुती सुजुकीको 'अल्टो ८००' दर्ता छ।
नेपाल लाइभले प्राप्त गरेको कागजातअनुसार एकान्तकुनास्थित यातायात कार्यालयमा दर्ता भएका दुवै गाडी दर्ता भएको केही समयमै सरुवा सहमति लिएर अन्यत्र गएको रेकर्डमा उल्लेख छ। बा२१च ४७१६ नम्बरको 'अल्टो-८००' गत फागुन २६ मा दर्ता भएको र चैत ३ मा यातायात व्यवस्था कार्यालय पोखराका लागि सरुवा सहमति दिइएको हो।
त्यस्तै, बा२१च ५५६२ नम्बरमा दर्ता देखिएको महिन्द्रा स्कर्पियो एकान्तकुना कार्यालयबाट २०७५ चैत २६ गते यातायात व्यवस्था कार्यालय धनगढीका लागि सरुवा सहमति लिएर गएको कार्यालयको अभिलेखमा उल्लेख छ।
राजश्व अनुसन्धान विभागले कात्तिक ६ गते दुईवटा टोयोटा फर्चुनरलाई कागज कीर्ते गरी वैधानिक बनाउन संलग्न ३ जनालाई पक्राउ गरेको छ। अनुसन्धान जारी रहेकाले यसमा संलग्नहरुबारे केही खुलाउन नमिल्ने विभाग स्रोतको भनाइ छ। ‘गाडी स्वरुमबाटै विभागको टोलीले उनीहरुलाई पक्राउ गरेको हो,’ स्रोतले भन्यो, ‘चोरीका गाडी वैधानिक बनाई किन्ने व्यक्तिसमेत तयार गरिसकेको भेटिएको छ।’
जुन नम्बरमा टोयोटा फर्चुनर दर्ता भएको छ, ती नम्बरमा दर्ता भएका गाडी एकान्तकुना कार्यालयबाट सरुवा सहमति दिएर अन्य कार्यालयमा पठाइएको छ।
चोरी गरी ल्याइएका गाडी वैधानिक बनाउने प्रक्रियामा भन्सारदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनासम्मको संलग्नता रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए। महँगो गाडी सस्तोमा पाउने भएपछि किन्ने मानिससमेत तयार भएको र यातायात कार्यालयका कर्मचारीहरु रकमको लोभमा कीर्ते काममा लागेको ती अधिकारीको भनाइ छ।
उनका अनुसार २५ लाख भारुमा भित्राइएकोमा वैधानिक बनाएसँगै प्रत्येक गाडीलाई ६० लाख रुपैयाँमा बेच्न खोजिएको अनुसन्धानबाट खुलेको उनले बताए। टोयोटा फर्चुनर म्यानुअल ट्रन्समिसनको नेपाली बजार मूल्य करिब १ करोड ६५ लाख तथा अटोमेटिक ट्रान्समिसनको १ करोड ७२ लाख पर्छ।
भारतीय नम्बर प्लेटका गाडी ५ सय रुपैयाँ दैनिक राजश्व तिरेर नेपाल ल्याउन पाइन्छ। त्यसैगरी आएका दुईवटा टोयोटा फर्चुनरलाई नेपाली नम्बर प्लेट राखी कागजात नक्कली बनाएर पेस गरेको पाइएको विभागको भनाइ छ। यसअघि यातायात व्यवस्था कार्यालय धनगढीमा समेत चोरीका गाडी दर्तामा संलग्नलाई यातायात व्यवस्था विभागले कारबाही गरेको थियो।
यो पनिः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।