काठमाडौं- भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नगरेको दावी गरेको छ।
बिहीबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा नयाँ नक्सामा नेपाल, भारत र पाकिस्तानको सिमानाबारे कुनै परिमार्जन नगरेको जिकिर गरेको हो।
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै नेपालमा विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको दावी गरे। ‘नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल-भारत सीमा परिमार्जन गरिएको छैन,' उनले भने।
यसबीचमा केही भ्रम सिर्जना गर्न खोजिएको भन्दै उनले सोको खण्डन गरेका हुन्।
प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुई देशको संयुक्त संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा संवादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाए। ‘दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुवै देश सचेत रहनुपर्छ। विवादित विषयमा वार्ता र संवाद गर्न हामी तयार छौं,' उनले भने।
'व्रिग समिट'का लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्राजिल भ्रमणअघि विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रविश कुमारले यस्तो दावी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।