काठमाडौं- आन्तरिक राजस्वतर्फ सबैभन्दा धेरै कर संकलन गर्ने ठूला करदाता कार्यालयको प्रमुखमा सहसचिव झलकराम अधिकारीको सरुवा भएको छ। अर्थ मन्त्रालयले बिहीबार अधिकारीको सरुवा गरेको हो।
आन्तरिक राजस्व विभागको उपमहानिर्देशकका रुपमा कार्यरत अधिकारीले मन्त्रालयको पत्र भने बुझिसकेका छैनन्। अर्थ मन्त्रालय स्रोतले अधिकारीको सरुवाको निर्णय भएर पत्र पनि तयार भइसकेको जनाएको छ।
ठूला करदाता कार्यालयका तत्कालीन् प्रमुख धनिराम शर्माको सरुवा भएपछि रिक्त स्थानमा उनलाई पठाइएको हो।
यसअघि आन्तरिक राजस्व कार्यालय क्षेत्र नं १ काठमाडौंको प्रमुख रहिसकेका अधिकारी वातावरण विभागको महानिर्देशक पनि भइसकेका छन्।
ठूला करदाता कार्यालय आन्तरिक राजस्वतर्फ सबैभन्दा धेरै कर उठाउने कार्यालय हो। चालु आर्थिक वर्षमा यो कार्यालयलाई करिब पौने ३ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।