भविष्यमा उत्पादन हुने ७ 'कन्सेप्ट कार'

शिव बोहरा | २०७६ कार्तिक २२ शुक्रबार | Friday, November 08, 2019 ०८:११:०० मा प्रकाशित

काठमाडौं- जापानको राजधानी टोकियोमा अक्टोबार २४ देखि सुरु भएको 'टोकियो मोटर शो २०१९' सोमबार सकिएको छ। उक्त मोटर शोमा संसारभरका ठूला सवारी उत्पादक कम्पनीहरुको सहभागिता रहेको थियो।

सहभागी कम्पनीहरुले नयाँ सवारीदेखि भविष्यमा उत्पादन हुनसक्ने 'कन्सेप्ट कार'समेत सार्वजनिक गरेका छन्। यहाँ सहभागी सवारी कम्पनीहरुले ल्याएका केही उत्कृष्ट कारबारे उल्लेख गरिएको छ।

निसान एरिया कन्सेप्ट
जापानी कार उत्पादक कम्पनी 'निसान'ले टोकियो मोटर शोमा 'एरिया कन्सेप्ट' कार सार्वजनिक गरेको छ। विद्युतीय कन्सेप्ट कार उत्पादनका लागि सो कार कन्सेप्टको रुपमा रहेको बताइएको छ।

यो कार टेस्लाको 'मोडल एक्स' जस्तै देखिएको छ। मोडर्न एसयुभी आकारको यो कारमा अटोमेकरको सिग्नेचरको रुपमा रहेको भी-मोसन ग्रिल छ। पूर्ण इलेक्ट्रिक यो कार कहिले बजारमा आउने कुरा कम्पनीले खुलाएको छैन।

टोयोटा मिराई कन्सेप्ट
पुरानो जस्तो देखिने टोयोटाको 'मिराई कन्सेप्ट' निक्कै आकर्षक बनाइएको छ। हाइड्रोजन फिउल सेलमा आधारित यो कार उपभोक्तालाई लोभ्याउने खालको छ। टोयोटाले इलेक्ट्रिकभन्दा हाइड्रोजन फिउल सेललाई प्राथमिकता दिएको छ।

टोयोटा ई-रेसर कन्सेप्ट
टोयोटाको मिराईभन्दा 'ई-रेसर कन्सेप्ट' अझ बढी वाइल्ड देखिन्छ। अटोमोबाइल क्षेत्रमा यस्ता कारलाई भविष्यको कारको रुपमा हेरिने गरेको छ। टोयोटाले यो कार कहिलेदेखि उत्पादन हुन्छ भन्नेबारे खुलाएको छैन।

डाइहात्सु वाकुवाकु
डाइहात्सुले पुरानो जस्तो देखिने आकर्षक कार टोकियो मोटर शोमा सार्वजनिक गरेको छ। टोयोटाकै स्वामित्वमा रहेको डाइहात्सुले सार्वजनिक गरेको कार हो 'वाकुवाकु'। यो कारको इन्टेरियर तथा एक्सटेरियर निकै आकर्षक रहेको छ।

सुजुकी वाकु स्पो
सुजुकीले हाल भएको भन्दा केही फरक डिजाइनको कार टोकियो मोटर शोमा सार्वजनिक गरेको छ। सुजुकीले अमेरिकी बजारलाई लक्षित गरी यो कार सार्वजनिक गरेको जनाएको छ। उक्त कारबारे थप विवरण भने कम्पनीले खुलाएको छैन।

मित्सुबिसी एमआई-टेक कन्सेप्ट
मित्सुबिसीले टोकियो मोटर शोमा नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ। यो कार रुफलेस, डोरलेस हुनेछ। इलेक्ट्रिक फोर ह्विल ड्राइभसहित यस कारमा अत्याधुनिक सुरक्षा विशेषता रहने कम्पनीले जनाएको छ।

लेक्सस एलएप-३० कन्सेप्ट
लेक्ससले भविष्यको इलेक्ट्रिक कारको रुपमा 'एलएफ-३०' कन्सेप्ट कार सार्वजनिक गरेको छ। देख्दा निक्कै आकर्षक यो कन्सेप्ट कार कहिले उत्पादन हुन्छ भन्ने कुरा केही पनि खुलाइएको छैन। टोयोटाको लक्जरी ब्रान्ड लेक्ससका प्रिमियम कार विश्व बजारमा चर्चित छन्।