काठमाडौं- नेपाल-युरोपेली संघ संयुक्त आयोगको बैठक शुक्रबार बस्दैछ। काठमाडौंमा हुने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि संघका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले संघको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन्।
बैठकमा दुवै पक्षले आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। संघको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
बैठकमा भाग लिन नेपाल आएको प्रतिनिधिमण्डलले यसअघि बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बेग्लाबेग्लै भेटेर पारस्परिक हित र चासोका विषयमा छलफल गरेको छ। नेपाल र युरोपेली सङ्घबीच विकास सहायतासम्बन्धी आयोग उपसमितिको तेस्रो बैठक परराष्ट्र मन्त्रालयमा भएको थियो। त्यसअवसरमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा विचार आदानप्रदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।