काठमाडौं- पाकिस्तानमा हुने फ्रेन्चाइज टी २० क्रिकेट लिग ‘पाकिस्तान सुपर लिग’ को ड्राफ्टमा नेपालका पाँच खेलाडीको नाम समावेश गर्न नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ।
सन् २०२० को फेब्रृुअरी २० देखि मार्च २२ सम्म हुने प्रतियोगिताका लागि आउने नोभेम्बरको अन्तिममा खेलाडीहरुको ड्राफ्ट तयार हुनेछ। जसमा नेपालबाट करण केसी, पवन सर्राफ, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख र बिनोद भण्डारीको नाम समावेश गर्न क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)मार्फत अनुरोध गरेको हो।
आफूहरुले नेपाली खेलाडीको क्रिकेट विकासका लागि अन्तर्राष्ट्रिय सहभागिता गराउन आइसिसीमार्फत अनुरोध गरेको र आइसिसीले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)सँग कुराकानी गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जनाएका छन्।
पाकिस्तान सुपर लिगको गएको सिजन नेपाली लेग स्पिनर सन्दीप लामिछाने लाहोर कलन्दर्समा आबद्ध थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।