काठमाडौं- पूर्व अर्थ राज्यमन्त्री एवम् व्यापारी रुप ज्योतिलाई योजनावद्ध ढंगबाट पक्राउ गरिएको खुलेको छ।
गत वर्ष मंसिर २४ मा ज्योतिले दायर गरेको निषेधाज्ञासम्बन्धी रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै २०७५ मंसिर २० मा काठमाडौं जिल्ला अदालतले दिएको पक्राउ अनुमतिलाई कार्यान्वयन गर्ने बाटो खुलेको थियो। सोही अनुसार ज्योतिलाई पक्राउ गर्न माथिल्लो निकायबाट स्वीकृत लिइएको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ।
‘प्रहरी महानिरिक्षक, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो र फैसला कार्यान्वयन निर्देशनालयका उच्च अधिकारीसहित छलफल गर्यौं,’ स्रोतले भन्यो, ‘प्रतिष्ठित व्यापारी भएकाले बालुवाटारमा जानकारी गरायौं। उताबाट ग्रिन सिंग्नल पाएपछि पक्राउको योजना बनेको हो।’
माथिल्लो तहमा 'ब्रिफिङ' तथा आदेशलगायतको सबै प्रक्रिया पूरा गरेपछि ज्योति कहाँ छन् भन्ने खोजी भएको स्रोत बताउँछ। खोजबिनपछि उनी सिंगापुर रहेको र बिहीबार नेपाल आउने प्रहरीले जानकारी पाएको थियो। सोहीअनुसार एयरलाइन्स र अवतरण समय थाहा पाएपछि महानगरीय प्रहरी परिसर र फैसला कार्यान्वयन निर्देशनायलको संयुक्त टोली ज्योतिलाई पक्राउ गर्न बिहीबार साँझ नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो।
‘रुप ज्योति पक्राउ गर्ने सम्बन्धमा प्रहरी र निर्देशनालयको उच्च नेतृत्व मात्र जानकार थियो,’ स्रोतले भन्यो, ‘तलसम्म सूचना पुर्याउँदा सूचना लिक होला भन्ने डर थियो।'
के थियो विवादको अन्तर्य?
यो विवाद घर निर्माणका लागि दिइएको १० लाख रुपैयाँबाट सुरु भएको हो। रुप ज्योतिविरुद्ध मुद्दा दायर गर्ने विज्ञेन्द्रकृष्ण मल्लले करिब ७ आना जग्गामा घर निर्माणका लागि रुप ज्योतिलाई १० लाख रुपैयाँ दिएका थिए। काठमाडौंको बाँसबारीस्थित उक्त जग्गा तथा घर निर्माणकै लागि ज्योतिको नाममा रहेको ल्यान्डमार्क प्रालिलाई मल्लले दोस्रोपटक १ करोड रुपैयाँभन्दा बढी रकम दिएका थिए।
समग्रमा विज्ञेन्द्रले एकै प्रयोजनका लागि पटक-पटक गरी ल्यान्डमार्कलाई २ करोड ७० लाख रुपैयाँ दिएको देखिन्छ। ज्योतिको नाममा रहेको अर्को निर्माण कम्पनी सिई कन्स्ट्रक्सनका नामम समेत उक्त रकम भुक्तानी गरिएको छ।
ठूलो परिणामको रकम कारोबार गर्दा समेत पीडित पक्षले केही रकममा बाहेक लेनदेनको कागज गरेको देखिँदैन। उक्त रकम 'जेन्टलमेन एग्रिमेन्ट'मा दिइएको पीडित पक्षले अनुसन्धानमा संलग्न अधिकारीलाई बताएका छन्।
२०७४ कात्तिकमा क्वालिटी डेभ्लपर्समा विज्ञेन्द्रले दिएको रकम जम्मा भएको छ। यसबाट तोकिएको जग्गा जुन कम्पनीलाई दिने भनिएको थियो, तर सहमतिविपरीत ल्यान्डमार्कले घर बनाएर क्वालिटी डेभ्लपर्सका नाममा पुगेको थियो।
समयक्रमसँगै लेनदेनमा केही गडबढ देखेपछि विज्ञेन्द्रले मालपोत कार्यालयमा पुगेर जग्गाको श्रेस्ता हेरेका थिए। सो क्रममा आफ्नो नाममा आउनुपर्ने जग्गा अर्कैको नाममा रहेको पाएपछि उनी प्रहरीकोमा पुगेका थिए।
दरबारमार्ग प्रहरीका तत्कालीन डिएसपी दानबहादुर मल्लकोमा पुगेर पीडित विज्ञेन्द्रले उजुरी गरेका थिए। तत्कालै मल्ल ज्योतिलाई पक्राउ गर्न पुग्दा उनले आपत्ति जनाएका थिए। ज्योतिलाई पक्रन गएको प्रहरी टोलीमाथि उनका परिवारले विरोध जनाएपछि प्रहरी खाली फर्किएको थियो।
त्यसपछि पीडित मल्ल महानगरीय प्रहरी परिसर टेकू पुगेका थिए। टेकूमा पीडित पक्षले जाहेरी दिएपछि प्रहरी ज्योतिलाई पक्राउ गर्न पुनः उनको घर पुगेको थियो। यसपटक भने प्रहरीले ज्योतिलाई नियन्त्रणमा लिन सफल भएको थियो।
प्रहरीको पक्राउविरुद्ध ज्योति जिल्ला अदालत काठमाडौं पुगेका थिए। जिल्ला अदालत काठमाडौंले प्रहरीको उजुरी ठिक रहेको भन्दै 'पक्राउ उचित भएको' फैसला सुनायो। प्रहरीले २०७५ मंसिर २० मा दिएको पक्राउ पूर्जीविरुद्ध ज्योति मंसिर २४ गते सर्वोच्च अदालत पुगेका थिए। त्यतिबेला सर्वोच्चले जिल्ला अदालतको आदेश तत्काल कार्यान्वयन भन्दै अन्तरिम आदेश जारी गरेको थियो।
तर, त्यसको करिब १ वर्षपछि गत मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकास ढुंगानाको संयुक्त इजलासले रुप ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो। रिट खारेजीसँगै जिल्ला अदालतको आदेश सदर भएको थियो।
सोपश्चात् नै ज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो।
यो पनिः
पूर्वमन्त्री तथा व्यापारी रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राख्न अदालतको आदेश
म्याद थपका लागि पूर्वमन्त्री तथा व्यापारी रुप ज्योति बाबुछोरीलाई अदालत लगियो
व्यापारी रुप ज्योतिकी छोरी सुरुची पनि पक्राउ
व्यापारी रूप ज्योति पक्राउ गराउने सर्वोच्चको त्यो फैसला
पौने ३ करोडको ठगी मुद्दाका अभियुक्त थिए रूप ज्योति
विमानस्थलबाट यसरी पक्राउ परे व्यापारी रूप ज्योति [६ तस्बिर]
पूर्वमन्त्रीसमेत रहेका व्यापारी रूप ज्योति पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।